इटहरीः सुनसरीको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका राजन मेहता निर्वाचित भएका छन् । नेपाली कांग्रेसको बहुमत रहेको सुनसरी जिल्लाको जिससमा राजनले निकै पहिलेदेखि तयारी गरिरहेका थिए । इनरुवा नगरपालिकाका निवर्तमान मेयर समेत रहेका मेहता इनरुवा २ बाट वडासदस्यमा निर्वाचित भएका थिए ।
सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस इनरुवाको सभापति समेत रहेका मेहताले १४ मत प्राप्त गरेका थिए पनि उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार जगनारायण मेहताले १० मत पाएका थिए ।
जिसस सुनसरीमा जम्मा २४ मतदाता रहेका छन् । १२ वटा पालिका रहेको सुनसरीमा हरेक पालिकाका प्रमुख र उपप्रमुखले जिससको निर्वाचनमा मत हाल्न पाउने व्यावस्था छ ।
त्यसैगरी जिससको सह–संयोजकमा कांग्रेसकै कमला खतिवडा निर्वाचित भइन् । खतिवडा इनरुवा १ बाट वडासदस्यमै निर्वाचित भएकी थिइन् ।
निर्वाचनको मतगणना सकिएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गरिसक्नुपर्ने र त्यसपछि जिल्ला समन्वय समितिको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । जिससको संयोजक चुन्नका लागि पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षले मत हाल्न पाउने व्यवस्था छ ।