धरानः धरान २० का २ वटा सामुदायिक विद्यालयमा रोजगारको शिलशिलामा दक्षिण कोरियामा रहेका धरानहरुको समूहले सोमबार शैक्षिक सामाग्री प्रदान गरेको छ ।
सो समूहले धरान २० बिष्णुपादुकाको मदन आश्रित विद्यालय र सुलिकोट आधारभुत विद्यालयका विद्याथीहरूलाई ६० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरेको हो ।
धरानबाट कोरियामा रहेका युवाहरुको समूह ‘वी धराने साउथ कोरिया’ को आर्थिक सहयोगमा शैक्षिक सामाग्री प्रदान गरिएको हो । वि धराने फेसबुक पेजका युवाहरु र वि धराने साउथ कोरियाका प्रतिनिधि धरान ८ निवासी विश्व श्रेष्ठले दुवै स्कुलमा पुगेर शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
उनका अनुसार उनीहरुले हरेक महिना आफ्नो तलबबाट केही रकम संस्थाको कोषमा जम्मा गर्ने गरेका छन् । धरानको ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री पहिलो पटक सहयोग गरिएको श्रेष्ठले जनाए । उनले आउँदा दिनमा धरानका अन्य विद्यालयहरुमा यस्तै खालको सहयोग गर्ने बताए ।
सो समूहले विद्यार्थीहरुका लागि एक बर्ष पुग्ने कापी, पेन्सिल, इलेजर, ज्यामिट्र बक्सलगायतका शैक्षिक सामग्री प्रदान गरिएको वि धराने पेजका एडमिन तथा समन्वयकर्ता क्वाङ छाङले बताए । उनका अनुसार दुवै विद्यालयको सिफारिशमा निम्न आर्थिक अवस्थाका एक छात्रासहित २/२ जना गरी ४ जना विद्यार्थीलाई विद्यालयको पोशाक र जुत्ता पनि हस्तान्तरण गरिएको थियो ।