उर्लाबारीः नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीको आयोजनामा मोरङको उर्लाबारीमा ‘प्रथम फुड फेस्टिवल तथा साँस्कृतिक प्रबद्र्धन कार्यक्रम २०७९’ को आयोजना गरिने भएको छ । यहाँस्थित उर्लाबारी पार्टी प्यालेसमा यहि असार ३,४ र ५ गते फुड फेस्टिबलको आयोजना गरिने भएको आज आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

संस्थाका अध्यक्ष मनिलाल श्रेष्ठले उर्लाबारी नगरपालिकासँगको सहकार्यमा जनजातिहरुको संस्कृति,संस्कार,भेषभुषा,झाँकी झल्काउने तथा परापुर्वकालदेखीको प्राकृतिक जडीबुडी सहितको खानापिनहरुको प्रवद्र्धन र बजारीकरणका लागि फेस्टिवलको आयोजना गरिएको जानकारी दिए ।

सो फेस्टिवलले जनजातिहरुबिच एकताको कायम गर्न टेवा पुग्ने उनले बताए । उनले विगत लामो समयदेखी स्थानीय सरकारसँग साझेदार र सहकार्यमा पछाडी पारिएको सिमान्तकृत तथा लोपउन्मुख आदिवासीहरुको हकहितमा काम गर्दै आएको बताए ।

संस्थाका सचिव नारायण चाम्लिङ राईले फेस्टिवलमा १४ जातिको प्राकृतिक जडीबुटी सहितको खानपिन तथा आहाराको संस्कारसँगैको स्टल सहित उनीहरुको भेषभुषाको प्रर्दशन गरिने बताए । आदिवासी जनजातिहरुको खानपिनको बारेमा अन्य समुदायलाई पनि जानकारी गराउँदै आगामि दिनमा बजारीकरण गरि जिवनयापनमा समेत सहजता गराउने लक्ष्य लिएको जानकारी दिए ।

संस्थाका प्रमुख सल्लाहकार रुद्रबहादुर तामाङले सबै जनजातिहरुलाई समेटेर्र एकैथलोमा समेटेर बृहत साँस्कृतिक कार्यक्रम सहित फुड फेस्टिबल गरिन लागेकोले भब्य र सब्यका साथ सफल हुने विश्वास ब्यक्त गरे । सो फेस्टिवलले जनजातिहरुमा आपसि सद्भाव र भाईचारा बढाउने उनले उल्लेख गरे ।