धरानः शनिवार धरानमा बराह बचत तथा ऋण सहकारीका पिडितको वृहत भेलामा बचत कर्ताले जसरी पनि आफुहरुको बचत तत्काल फिर्ता गर्ने वातावरण मिलाउने माग गरेका छन् ।

भेलामा बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले बराहसँग ७ सय ५२ करोड बराबरको सम्पत्ति भएकोले कोही पनि नभाग्ने र ग्राहकहरुलाई धोका नदिने तर आफुहरुलाई काम गर्ने समय दिनुपर्ने बताएका थिए ।

बराह पिडित संघर्ष समितिको तर्फबाट संयोजक खगेन्द्र नेपालीले पिडितहरुको माग जाय जेथा बेचेर भएपनि बचतकर्ताको बचत तत्काल फिर्ता गर्नेतर्फ ध्यान दिन सहकारीलाई दवाव गरेका थिए ।

बराह सहकारी पीडित संघर्ष समितिको शनिबार भएको वृहत भेलालाई सम्बोधन गर्दै बराह गु्रपका अध्यक्ष विश्वकर्माले बराह गु्रपका १५ वटा कम्पनी सञ्चालनमा रहेको जानकारी दिदै कम्पनी र सञ्चालकहरुको जायजेथा सम्पत्ति सबै गरि ५०३ करोड रहेको बताएका थिए । यस्तै, २४८ करोड खुद व्यापारमा नै सम्पत्ति रहेको भन्दै उनले सबै गरि ७५२ करोड सम्पत्ति बराहसँग भएको दावी गर्दै कोहि कसैको बचत नडुव्ने बताए तर संस्थामा नगद नभएकाले तत्काल सबै बचतकर्ताको बचत फिर्ता दिन नसकिने बराहले बताउँदै आएको छ ।

baraha-sahakari-cover

आफुहरुसँग प्रशस्त व्यापार गर्ने ठाउँ भएकाले तत्काल बैँकले ऋण पनि नदिने र यत्रो सम्पत्ति किन्न समेत कोही नआउने भएकाले नगद जुटाउन कठिन भएको विश्वकर्माले भेलालाई सुनाए । ‘न अहिले बैंकमा ऋण माग्न जादा दिन्छ, न सम्पत्ति बेचौं न भन्दा पैसा लिएर आउने कोही छ, यसको लागि समय दिनुस् भनेका हौं,’विश्वकर्माले भनेका थिए । आफुहरु कतै नभाग्ने भन्दै विश्वकर्माले संस्था खोलेर कारोबार गर्ने वातावरण बनाइदिन भेलालाई आग्रह गरेका थिए ।

बराह बचत तथा ऋण सहकारीले धरानका हजारौँ बचत कर्ताको बचतलाई ठोेस सम्पत्तिमा लगानी गर्दा बचत कर्ताको बचत फिर्ता गर्न सकस परिरहेको छ ।

बराहले आफ्नो सम्पत्तिको सम्पुर्ण विवरण, अडिट रिपोर्ट स्थानीय सरकार धरान उपमहानगरपालिकामा बुझाइसकेको छ भने सो विवरणको आधारमा प्रतिवेदन तयार गर्न धरान नगरपालिकाको तर्फबाट २ जना र बराह सहकारी पिडितको तर्फबाट २ जनाको टोलि समेत खटिइसकेको छ ।

उपमहानगर र संघर्ष समितिको टोलिले एक हप्ता देखि दश दिन सम्ममा बराहको सम्पुर्ण चल अचल सम्पत्तिको टुगो गरी प्रतिवेदन तयार गरीसक्ने बताएको छ । संस्थासँग भएको चलअचल सम्पत्तिलाई बिक्रीवितरण गर्न, बैंक बित्तिय संस्थाबाट नगद व्यवस्थापन गर्न र ऋण लगानी भएको ठाउँबाट उठाउनको लागि ३ महिनाको समय माग गरेको छ ।