धरानः अरुण ३ जलविद्युत आयोजना, किमाथाङका राजमार्गको पृष्ठभूमीमा धरान भविष्यमा पूर्वको कृषिजन्य उत्पादन निर्यात व्यापारको केन्द्र बन्न सक्ने सम्भावना रहेकोले आवश्यक पूर्वाधार विकासको तयारीमा लाग्नुपर्ने आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाले बताएकी छन् ।

उनले धरानको कृषि उपज बजारलाई विस्तार र विकास गर्नुपर्ने कुरामा जोड दिदैं भनिन् ‘अबको निर्यात व्यापार कच्चा पदार्थमा नभई प्रशोिधत वस्तुमा आधारित हुनुपर्दछ ।’ यस्को लागि धरानमा प्रशोधन मुलक औद्योगिक पूर्वाधारको विकास जरुरी भएको उनले बताइन् । सुनसरी उद्योग वाणिज्य संघको ३८ ओं साधारण सभा उद्घाटनको अवसरमा आज शनिवार राणाले उक्त कुरा बताएकी हुन् ।

पूर्वी पहाडी भेगको जडिबुटी निर्यात बजार रहको धरानमा प्रशोधन उद्योगको पूर्वाधार विस्तार गरिएमा अन्तर्राष्ट्रिय निर्यात व्यापारमा प्रतिस्पर्धा गर्न सकिने उनले बताइन् । परम्परागत रुपमा कच्चा पदार्थको निर्यात भन्दा प्रशोधित जडिबुटीले राम्रो बजार र मुल्य पाउने बताउँदै यसबाट कृषक र व्यापारी दुवैले बढी लाभ पाउने उनको भनाई छ ।

कृषि बजारको विकासका लागि धरानमा कृषिजन्य उत्पादनलाई विविधिकरण विस्तार गर्ने पूर्वाधारको स्थापना जरुरी भएको बताउँदै अरुण तेश्रो आयोजनाको पूर्वाधार विकासले नयाँ सम्भावना र अवसरको ढोका खुलेको उनले स्पष्ट गरिन् । राणाले धरानमा धेरै सम्भावना बढेको बताउँदै उद्योगी व्यवसायीहरुको एकता, सहकार्यबाट यो अवसरलाई उपयोग गर्न आग्रह गरिन् ।

उनले भनिन् ‘नेपालमा उद्योगी व्यवसायी विच एकता र सहकार्य अत्यन्तै जरुरी छ, यसो नभए सरकार हाम्रो हितको पक्षमा हुँदैन ।’ उद्यागी व्यवसायी विच एक अर्काको व्यापार धराशायी भएको रमिता हेर्ने प्रवृत्ति भएकाले पनि राज्य पक्षबाट नीजि क्षेत्रलाई सहज रुपमा उद्योग व्यवसाय गर्ने नीति निर्माण हुनसकिरहेको छैन् ।

आर्थिक वर्ष २०७९/ ०८०  को बजेटमा धेरै सकारात्मक पक्ष रहेपनि कतिपय प्रावधानले सरकार नेपालको स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने भन्दा विदेशी तयारी वस्तुको आयात बढाउने पक्षमा रहेको देखिएको उनले बताइन् । कच्च पदार्थमा भन्सार बढाउने तयारी वस्तुमा आयातमा घटाउने नीति विरुद्ध विराटनगरबाट आन्दोलन शुरु भएपछि सरकार केही नरम देखिएको उनले बताइन् ।

उनले भनिन् ‘यसबाट उद्योगी व्यवसायीको हितका लागि हामीहरु विच एकता र सहकार्य भएमा सरकारलाई दवाव पुग्ने कुरा सबैले बुझ्न जरुरी छ ।’ सरकारको नीति स्वदेशी उद्योग व्यवसायप्रति नकारात्मक रहने हो भने विराटनगरबाट मात्र होइन् देशव्यापी रुपमा आन्दोलनमा उत्रन पनि उद्यागी व्यवसायी तयार रहनुपर्ने पर्ने उनले बताइन् ।

संघको साधारण सभा तिन वर्षपछि भएको हो । यसअघि देशभर कोरोना महामारी फैलिएपछि साधारण सभा हुनसकेको थिएन् । सोही अवसरमा संघव्दरा पहिलो पटक सफल उद्योगी र पुराना व्यवसायीलाई सम्मान प्रदान गरिएको छ । धरानमा सफल उद्योगीको सम्मान नेपाल प्लष्टिक्सका सञ्चालक मानमोहन श्रेष्ठलाई प्रदान गरिएको छ । धरानमा पहिलो पटक पेट्रोल पम्पको व्यवसाय शरु गरेको रघुनाथ राय राधाकृष्ण पेट्रोल पम्पका सञ्चालक गणेश अग्रवाललाई सम्मानित गरिएको छ ।

संघले वर्सेनी प्रदान गर्ने आएको आर्थिक तथा पर्यटन पत्रकारीता पुरस्कार यसपाली एकैसाथ तिन वर्षको ६ जनालाई प्रदान गरेको छ । नगद १० हजार रुपया सहित सम्मानित पुरस्कृत हुने पत्रकारहरुमा मनिता चाम्लिङ, प्रदिप मेयाङबो, रत्न आचार्य, सन्तोष काफ्ले, विनय प्रधान र सन्तोष यादव छन् । उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रिय, प्रदेशका पदाधिकारीहरुले उद्योग व्यवसायीका समस्याका बारेमा बोलेका थिए । संघका सभापति गिरिधारी सापकोटाको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो ।