इटहरीः संखुवासभाबाट बेहुली लिएर फर्किँदै गरेको गाडी इटहरी २० पानीपियामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
संखुवासभाको सभापोखरीबाट बेहुली लिएर फर्किँदै गरेको सुमो गाडी गएराती १ः४० बजेतिर दुर्घटना भएको प्रदेश नम्बर एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
चालक निदाउँदा मे १ ज १९८६ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकबाट १० मिटरजति तल खसेर रुखमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनाबाट सुमो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ का ३३ वर्षीय कुमार कार्की, बेहुला सुन्दरहरैँचा १० का २४ वर्षीय सविन आलेमगर, बेहुलाका बुवा ६४ वर्षीय यामबहादुर आले मगर, बेहुली संखुवासभाको सभापोखरी गाउँपालिका १ की २४ वर्षीया सङ्गीता मगर र गाडीमा सवार इटहरी ३ का ४५ वर्षीय भक्तबहादुर मगर घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेहरुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये बेहुली र बेहुलाका बुबाको अवस्था गम्भीर रहेको छ ।