इटहरीः निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता गर्ने भएको छ ।
प्रदेश र संघको निर्वाचन आउँदै गर्दा उमेर पुगेका तथा विभिन्न कारणले मतदाता नामावली दर्ता गर्नबाट छुटेका वालिगका लागि मतदाता नामावली दर्ता खुल्ला गरेको हो ।
गृहजिल्ला बाहिर रहेकालाई पनि जुन जिल्लामा कार्यरत हो त्यहीँ नामावली दर्ता गर्नेगरी व्यवस्था गरिएको छ ।
आयोगका अनुसार उसले सङ्कलन गर्ने मतदाता नामावलीमा नाम दर्ता गराउनैका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट पर्ने छैन । यसअघि मतदान गर्नका लागि मात्रै नभई मतदाता नामावलीमा दर्ता हुनका लागि पनि मतदाताहरू साबिककै जिल्ला धाउनुपर्ने बाध्यता थियो ।
अब स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाइएको छ ।यसरी दर्ता गरिएको नामावलीलाई भने आयोगले आफ्नो प्रणालीमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेकै जिल्लामा पठाउने छ ।
आयोगले ७७ वटै जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गरेको हो । त्यसका लागि आफ्नो नागरिकता लिएर आफु अहिले बसोबास गरिरहेको जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।