बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न समिति उपसमितिहरु गठन गरेको छ । नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको हो ।

उपप्रमुख नन्दकुमारी राईको अध्यक्षतामा राजस्व परामर्श समिति गठन गरिएको छ । त्यसैगरी उपमेयरकै संयोजकत्वमा ६ सदस्य अनुगमन समिति गठन भएको छ ।

नगर प्रमुख कार्कीको अध्यक्षतामा ७ सदस्य सीमा निर्धारण तथा श्रोत अनुमान समिति गठन भएको छ भने उपमेयरको अध्यक्षतामा ५ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ ।

त्यसैगरि ११ का अध्यक्ष कृष्ण कुमार महत्तोको संयोजकत्वमा विधान समिति, १० का अध्यक्ष तेज बहादुर गुरुङको संयोजकमा आर्थिक विकास समिति, ३ का अध्यक्ष राजदिप लामाको संयोजकत्वमा पूर्वाधार विकास समिति, ८ का अध्यक्ष रोशन खड्काको संयोजकत्वमा सामाजिक विकास समिति, कार्यापालिका सदस्य रत्नबहादुर रम्तेलको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति, ४ का अध्यक्ष आशाराम चौधरीको संयोजकत्वमा वन तथा वातावरण विपत व्यपस्थापन समिति गठन भएको छ ।

यस्तै, २ का अध्यक्ष होमप्रसाद गौतमको संयोजकत्वमा लेखा समिति, रमेश कार्की को संयोजकत्वमा शिक्षा समिति, ७ का अध्यक्ष कपिल आचार्यको संयोजकत्वमा नगर खेलकुद विकास समिति गठन भएको छ ।

यस्तै अपांग रोकथाम तथा पुनः व्यवस्थापन समिति उपप्रमुख राईको अध्यक्षतामा गठन गरिएको छ भने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना समिति नगर प्रमुख कार्कीको अध्यक्षतामा बनाइएको छ । गरिबी निवारण लघुउद्यम विकास कार्य सञ्चालक समिति नगर प्रमुख कार्कीको संयोजकत्वमा बनेको छ ।

बैठकले विकास निर्माणका जारी कामलाई प्राथमिकता दिने निर्णय गरेको छ । ठेक्काका कामको प्रगती कम भएको भन्दै ठेकेदारलाई अनुगमन गरेर ताकेता गर्ने निर्णय गरिएको छ ।