केराबारीः स्थानीयको बिरोधका बावजुद केराबारीको बन क्षेत्रमा जारी उत्खनन् शनिबार दिउँसोदेखि रोकिएको छ । केराबारी गाउँपालिकाले शनिबार दिउँसोबाट उत्खनन् पूर्णरुपमा रोकेको हो ।

केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुदर्सन दाहालले चालु आर्थिक बर्षका लागि लगाएको ठेक्का शुक्रबार दिउसो देखिनै रोकेको बताए । उनले केही स्काभेटरहरुले उत्खनन् गरिरहेको पाईपछि शनिबार दिउँसो देखि प्रहरी नै परिचालन गरेर पूर्णरुपमा रोकिएको बताए ।

उत्खनन् रोकिएपछि कार्यालय खुलेपछि प्राबिधिकसहितको टोलीले परिणाम यकिन गर्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । साथै दाहालले चालु आर्थिक बर्षको लागि दिइएको केराबारी क्षेत्र भित्रको सबै उत्खनन् अधिकार रोकिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत दाहालले केराबारी गाउँपालिकाले चालुआर्थिक बर्षको लागि आरवान कन्ट्रक्सनलाई ११ करोड ९९लाखमा केराबारीका बिभिन्न खोलाबाट ३लाख ३९ हजार ९ सय घनमिटर गिटी बालुवा उत्खनन् गर्ने गरि खोला ठेक्का लगाएको अनुरुप नै आरवानले करिव २९हजार घनमिटर गिटी बालुवा निकाल्न बाँकी रहेको बताएपछि दुईवटा नाकामा उत्खनन् अधिकार प्रदान गरिएको बताए ।

यस्तै केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले चालु आर्थिक बर्षको लागि लगाएको ठेक्का अनुसार नै उत्खनन् भईरहेको भन्दै चालु आर्थिक बर्षको अन्तिम (जेठ मसान्त) भित्र तोकिएको परिमाणमा उत्खनन् गरिसक्नुपर्ने प्रावधान अनुरुप अघिल्लो कार्यपालिकाले दिएको कार्यादेश अनुरुप नै उत्खनन् अधिकार दिईएको बताए ।

स्थानीयको बिरोधका वावजुद खनियो खदम खोला

मोरङको केराबारी गाउँपालिकाले केराबारी ७ र ८को सिमाना क्षेत्रमा ठेक्का नै लगाएर खोला उत्खनन् गरेको भन्दै स्थानीय ब्यापक बिरोध गरेका छन्। स्थानीयले केराबारी ७ र ८को सिमानाका रुपमा रहेको खदम खोलाको बन क्षेत्रमा ठेक्का नै लगाएर उत्खनन् गरेको भन्दै स्थानीयले बिरोध गरेका छन्।

स्थानीयको बिरोधका बावजुद यो समाचार तयार पार्दासम्म भने उत्खनन् जारी छ। बन क्षेत्रमा उत्खनन् गर्न नपाउने स्पष्ट निति नै भएपनि केराबारी गाउँपालिकाले ठेक्का नै लगाएर उत्खनन् गरिरहेको केराबारी गाउँपालिका वडा नम्बर ७का लालबहादुर बस्नेतले पूर्वीखबरसँगको टेलिफोन सम्बादमा बताएका छन्।

केराबारी ८को आँमजुँगी र केराबारी ७को बस्नेत टोल दक्षिण पट्टि पचासौँ ट्रिपरहरु राखेर उत्खनन् जारी रहेको शनिबार स्थलगत रिर्पोटिङका क्रममा देखिएको थियो। स्थलगत रिर्पाेटिङका क्रममा अहिले उत्खनन् जारी रहेको क्षेत्रमा यसअघि पनि पटक पटक उत्खनन् गरिएको भेटिएको छ । रिपोटिङका क्रममा सो बन क्षेत्रमा यसअघि उत्खनन् गर्दा दुईतह उत्खनन् गरिसकेको स्पष्ट देखिएको छ। जारी उत्खनन् भएको ठाउँमा तेश्रो तहमा उत्खनन् भईरहेको भेटिएको छ।

खदम खोलामा हरेक बर्ष ठेक्का नै लगाएर उत्खनन् गर्दा स्थानीय पैनिहरुमा पानि चढाउन मुस्किल पर्ने गरेको छ। वनक्षेत्रमा हरेक बर्ष उत्खनन् गर्दा छेउछाउमा कटान भएका कारण बन क्षेत्रमा भुक्षय बढेको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन्। बन क्षेत्रमा उत्खनन् हुँदै गर्दा केराबारी ७ का स्थानीय वडाध्यक्षसहित उत्खनन् जारी रहेको क्षेत्रमा पुगेर बिरोध गरेका छन्।

अहिले केराबारी ८को आमजुँगी सामुदायीबन बन र केराबारी ७को दिपज्योति सामुदायीक बन क्षेत्रमा उत्खनन् भईरहेको हो। वन क्षेत्र भित्र खोला ठेक्का लगाएर उत्खनन गर्न दिने केराबारी गाउँपालिकाको निर्णय अवैज्ञानिक अदुरदर्शी रहेको ठहर गर्दै उत्खनन् बन्द गर्न दवाव दिएको केराबारी ७का बस्नेतले बताएका छन्।