इटहरीः इटहरी रंगशालामा सञ्चालन भइरहेको प्रदेश १ को जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको शनिवारको खेलबाट मोरङ्गको मोतीराम स्पोर्टिङ्ग क्लब र सुनसरीको धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको क्वाटर फाइनलको पहिलो खेलमा पाँचथरलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको फ्युजन फुटबल क्लव उदयपुरलाई ० को विरुद्ध ४ गोलले हराउँदै मोतीराम स्पोर्टिङ्ग क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । उद्घाटनको दिन भएको खेलमा पाँचथरलाई २ गोलले हराएको उदयपुरले शनिवार भने एक गोल पनि गर्न सकेन । फ्युजन फुटबल क्लव उदयपुरलाई मोतीराम स्पोर्टिङ्ग क्लब मोरङ्गले ४ गोल गर्न सफल भयो ।
उदयपुरको टोलीलाई मोतीराम स्पोर्टिग क्लब मोरङ्गले खेल सुरु भएको एक मिनेट भित्रै जर्सी नम्बर १० का भुवन बस्नेतले गोल सुरक्षित गरे भने खेलको दशौँ मिनेटमा मोतीरामकै जर्सी नम्बर १३ का उमेश कार्कीले अर्को गोल गरेका थिए । खेलको २७ औँ मिनेटमा जर्सी नम्बर १० का भुवन बस्नेतले अर्को गोल थप गरे भने दोस्रो हाफको ४२ औँ मिनेटमा मोतीरामका जर्सी नम्बर १९ का कोमल खवासले एक गोल थपेर ४ गोल पुर्याएका थिए । यसैगरी पहिलो खेलमा मोतीराम स्पोर्टिङ्ग क्लब मोरङ्गका क्याप्टेन अशोक खवास म्यान अफ द म्याच घोषित भएका थिए ।
उनलाई २ हजार एक सय रुपैँया नगद संखुवासभा जिल्ला खेलकुद विकास समितिको अध्यक्षले प्रदान गरेका थिए । यसैगरी शनिवारै भएको दोस्रो खेल धरान फुटबल क्लव सुनसरी र खाँदवारी युथ क्लब संखुवासभा बीच भएको थियो । खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा ठेलिएको थियो । ट्राइबेकरबाट धरान फुटबल क्लब सुनसरीले खाँदवारी युथ क्लब संखुवासभालाई ३ को विरुद्ध ४ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा निकै प्रहार छेक्दै आएका खाँदवारीका गोलकिपरले ट्राइबेकरमा २ गोल मिस गरेपछि सुनसरीले जित निकालेको थियो ।
धरान फुटबल क्लवको तर्फबाट जर्सी नम्बर १० विवेक राई, जर्सी नम्बर १८ दोर्जी तामाङ्ग, जर्सी नम्बर १५ हेमन्त थापा मगर र अर्को जर्सी नम्बर ७ का खेलाडीले गोल गर्न सफल भएका थिए भने जर्सी नम्बर ५ का मनोज राईको प्याल्यान्टि सट मिस भएको थियो ।
यसैगरी खाँदवारीको तर्फबाट जर्सी नम्बर ९ का अरुण भगत, जर्सी नम्बर ६ का सन्दिप श्रेष्ठ र जर्सी नम्बर १९ का जिवन मगरले गोल गरेका थिए भने जर्सी नम्बर १० का जिवन राई र जर्सी नम्बर १८ का सन्तोष दाहालको प्यानेल्टि सट मिस हुँदा संखुवासभाले घर फर्किनु पर्यो । दोस्रो खेलको म्यान अफ द म्याच धरान फुटबल क्लबका खेलाडी जर्सि नम्बर १५ का हेमन्त थापा मगर घोषित भएका थिए । हेमन्तलाई इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र बहादुर थापाले नगद २ हजार एक सय रुपैयाँ नगद प्रदान गरे ।
आइतबार देउराली फुटबल क्लब धनकुटा र इलामको रेडहर्स फुटबल क्लब बीच पहिलो खेल र बाक्सिला फुटबल क्लब खोटाङ्ग र शनिश्चरे फुटबल क्लब झापा बीच दोस्रो खेल हुने आयोजकले बताएका छन् ।
इटहरी रंगशालामा भइरहेको खेल प्रदेश नम्बर एक खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटबल क्लबको संयोजनमा भइरहेको छ । खेलका प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सदस्य शैलेश कुमार विष्ट, इटहरी फुटबल क्लबका अनुरोध थापा, केशब कार्की, कोविदजंग कार्की, फुटबलका चर्चित खेलाडी सुरेन्द्र तथा प्रशिक्षक तामाङ लगायतको उपस्थिती रहेको थियो ।