इटहरीः एकीकृत सरकारी कर्मचारी संगठन प्रदेश कार्यसमिति प्रदेश नम्बर १ ले प्रदेश सरकारको बजेट भाषणको पूर्वसन्ध्यामा बजेटमा समेट्नु्पर्ने विभिन्न माग सहित सरकारलाई ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्तरको ट्रेड युनियनका रुपमा रहेको एकीकृत सरकारी कर्मचारी संगठनले प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्गवोको ध्यानकर्षण गराउँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उनीहरुले प्रदेश तथा स्थानीय तहमा कार्यरत अस्थायी तथा करार सेवमामा कार्यरत सम्पुर्ण कर्मचारीलाई महंगीभत्ता, औषधि उपचार खर्च र विरामी विदाको सुविधा उपलव्ध गराउन माग गरेका छन् । यसैगरी उनीहरले प्रादेशिक सरकारी अस्पतालको स्थापना गरी निजामती सरहको सुविधा प्रदेश र स्थानीय तहमा कार्यतर सबै अस्थायी र करारका कर्मचारीहरुलाई समेत उपलव्ध हुने गरी स्वास्थ्य सेवा उपलवव्ध गराउन समेत माग गरेका छन् ।
उनीहरुले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित बीमाको प्रिमियम प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गर्न समेत माग गरेका छन् ।प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले खाइपाई आएका ग्रेड समायोजन गर्ने व्यवस्था गर्न संगठनले माग गरेको छ ।
अधिकृत स्तरका कर्मचारीहरुलाई समेत प्रदेशबाटै तालिम उपलव्ध गराउनका लागि प्रदेश लोकसेवा आयोगले भर्ना गर्ने स्थानीयतह तथा प्रदेशका जुनसुकै तहमा सिफारिस भएका कर्मचारीलाई गुणस्तरीय सेवा प्रवाहमा सहज बनाउन सेवा प्रवेश तालिमको व्यवस्था गरेर मात्रै कायक्षेत्रमा पठाउने व्यवस्थागर्न समेत ध्यानाकर्षण गरिएको छ ।
कर्मचारी संगठनले प्रदेश १ भित्र सुचिकृत भएका पर्यटकिय गन्तव्यमा आन्तरिक पर्यटन गर्न १५ दिने काजको व्यवस्था गर्न , बढी कार्यबोझ हुने कार्यालयमा सिफ्टको व्यवस्था गर्न , जोखिमको काम गर्नेलाई जोखिम भत्ताको व्यवस्था गर्न समेत प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ । प्रदेश १ का संयोजक भुवन राईद्धारा हस्ताक्षर गरिएको ध्यानाकषण पत्र शुक्रबार मन्त्रालयमा बुझाइएको हो ।