धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैंठक स्थगीत भएको भोलिपल्ट सुक्रबार उपमहानगरपालिकाको मूल गेट अगाडि धराने जनताहरुले कार्यपालिकाको बैंठक अनिवार्य लाइभ गर्नु पर्ने माग राख्दै प्रर्दशन गरेका छन् ।

सचेत धराने समूहको व्यानर सहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर कार्यालय खुल्ने समयभन्दा आधा घण्टा अगाडी उपमहानगरको मूलगेटमा भेला भएका धराने जनताहरुले प्रर्दशन गरेका हुन् ।

उनिहरुले आफूहरु मेयर हर्क साम्पाङको समर्थन गर्न भन्दा पनि धराने जनताले जिताएर पठाएका जनप्रतिनिधिहरुले इमान्दारिता पूर्वक जनताको काम गर्नु पर्छ भन्ने दवाव सृजना गर्न प्रर्दशनका लागि उपमहानगरको मूलगेटमा भेला भएको दावी गरे ।

बिहीबार स्थगीत कार्यपालिका बैठक सुचारु गर्नु पर्ने र धरानलाई बन्धक बनाउन नहुने भन्दै सचेत धराने नामक समूहले मौन धर्ना दिएको हो । उनीहरुले ‘कार्यपालिका बैठक बदर, जनमतको खै कदर ?’, ‘फूटेर होइन जुटेर अघि बढौँ विकास विरोधी कार्य बन्द गरौँ’ लगायतका प्लेकार्ड लिएर उपमहानगरको गेट अगाडि प्रर्दशन गरेका थिए ।

धरान १० निरज लिम्बूले स्वतस्फूर्त रुपमा खबरदारीका लागि आएको बताए । उनले भने, ‘यो हाम्रो उपमहानगर र सबै कार्यपालिका सदस्यरुका लागि ध्यानाकर्षण र खवरदारी हो ।’ धर्नामा बसेका रमेश राईले धरानको विकासका लागि जुनसुकै पार्टी भएपनि समर्थन गर्ने तर विकास विरेधीलाई खबरदारी गर्ने बताए ।