बराहक्षेत्रः यस हप्ता बराहक्षेत्रको जंगलमा काठको तस्करी गरिरहेको अबस्थामा एक टेम्पो भेटियो । अमाह सामूदायिक बनका अध्यक्ष भोजराज घलेको नेतृत्वमा बनको रेखदेख गरिरहेको टोलीले राती १०.३० बजे बुलेरोसहित अन्य सवारी साधनहरुलाई नियन्त्रणमा लिन खोज्यो । उनीहरू भागेपछी घले नेतृत्वको समुहले पछ्याउँदै जाँदा बराहक्षेत्र ८ स्थित गरिमा काष्ठ उधोगको भवनमा तस्करी गर्ने समूहहरुको सवारी रोकियो । तर बुलेरो गाडी भने काठ मिलबाटै फरार भयो ।
अध्यक्ष घले भन्छन्,‘त्यसपछि हामीले बुझ्यौं कि त्यो काठको तस्करी गर्ने मूख्य नाइके यहि काठ मिलका सञ्चालक हुन् ।’उक्त मिलका सञ्चालक सोही वडा निवासी श्याम भण्डारी हुन् । घलेको समुहले पछ्याउँदै जाने क्रममा फोटोसमेत खिचेको छ भने सो काठ भोलिपल्टनै जिल्ला बन कार्यालय सुनसरीमा पुर्याइएको छ । सो काठ साल प्रजाति भएको र अहिले सोको बजार मूल्य झण्डै ३ लाख पर्ने अध्यक्ष घलेको भनाइ छ ।
अध्यक्ष घलेका अनुसार मिल सञ्चालक भण्डारी यसअघि २ पटक काठको तस्करी प्रकरणमा सहित फेला परिसकेका व्यक्ति हुन् । ३ वर्ष अगाडि पुलहा–थलाहमा काठको तस्करी गरिरहेको अबस्थामा भेटिएका थिए भने १ वर्ष अगाडि पनि जंगलभित्रै उनि प्रमाण सहित समातिएका थिए । तर उनलाई हालसम्म कुनै खालको कानूनी कार्वाहीको प्रक्रिया समेत अगाडि बढेको छैन् ।
त्यस्तै, यसपटक भने घलेकै समूहले फायर लाइन भन्ने स्थान नजिक काठ लोड गरिरहेको अबस्थामा २ जनालाई पक्राउ गरेको हो । घटना स्थलमै पक्राउ परेका उनीहरूविरुद्ध मुद्दा अघि बढिसकेको छ । पक्राउ परेकामध्ये एकका अनुसार मिल सञ्चालक भण्डारीले केही व्यक्तिहरुलाई डर धम्की दिएर तस्करी गर्न लगाउने गरेको र आफूलाई समेत बन्धनमा पारी बाध्यकारी बनाउने गरेको दावी गर्छन् ।
यसै सन्दर्भमा श्याम भण्डारीसँग कुराकानी गर्दा अरु कुनै तस्करले आफू बच्नको लागि गरिमा काठ उधोगमा समान ल्याएको बताए । ‘कुनै एक तस्करले १० हजार दिन्छु गरिमा काठ उधोगमा झार्नु भनेपछी यहाँ समान झारेर मलाई फसाइएको मात्रै हो, उनले थपे, ‘सोही राती म सुतिरहेको थिएँ, सामुदायिक बनका अध्यक्ष लगायतलाई कसैलाई देखिन, भोलिपल्ट मात्रै उहाँहरु आएर फोटो खिचेर जानुभयो ।’ यसअघि पनि काठ तस्करीको प्रकरणमा पक्राउ गरेको भन्ने विषय मिथ्या हो, उनले भनें ।