धरानः बिहीबार कार्यपालिका सदस्यको बहिष्कारका बीच स्थगीत भएको धरान उपमहानगरपालिकाको बैठक आगामी २९ गते आइतबार बस्ने भएको छ ।
बिहीबार बस्ने भनेको बैठक स्थगीत भएपछि बिहीबारै कार्यपालिका सदस्यलाई पत्राचार गरी आगामी २९ गते आइतबार दिउँसो २ बजेका लागि बोलाइसकिएको उपमहानगरपालिकाले बताएको छ ।
असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने र समय कम भएका कारण चाँडो काम सक्न दवाव भएकाले बैठक पुनः स्थगीत भएको ३ दिन पछि नै बोलाइएको हो ।
अघिल्लो बैठकमा मेयर हर्क साम्पाङ्गले खोला ठेक्काको विषयमा राखेको प्रस्तावमा कार्यपालिका सदस्यका वीच चर्काचर्की भएपछि निर्णयमा नपुगी बैठक समाप्त भएको थियो ।
मेयर साम्पाङ्गले खोला ठेक्का लगाएर खोला बेच्दा चुरेको दोहन भइरहेको भन्दै यो दोहन रोक्न खोला ठेक्का नलगाउने तर आवश्यक परेको बेला थुप्रिएको ढुङ्गा नगरपालिका आफँैले निकाल्ने बताएपछि अधिकांश कार्यपालिका सदस्यले नगरको आर्थिक स्रोत खुम्चिने भन्दै त्यसको विकल्प खोज्न आग्रह गरेका थिए ।
बिहीबार दिउँसो २ बजे बस्ने कार्यपालिका बैठकमा मेयर साम्पाङ समर्थकले उपमहानगरपालिका गेटमा धर्ना दिएपछि कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका थिए ।