इटहरीः शुक्रबार बसेको इटहरी उपमहानगरपालिकाको लाइभ(प्रत्यक्ष प्रशारण) भएको पहिलो कार्यपालिकाको बैठकमा कार्यालयमा फर्निचर हुँदा हुँदै नयाँ जनप्रतिनिधहरुमा नाममा फर्निचर सामाग्री खरिद गरी अनियमितता गरेको भन्दै कार्यपालिका सदस्यहरुले प्रश्न उठाएका छन् ।

पुराना जनप्रतिनिधि जाँदै गर्दा र नयाँ जनप्रतिनिधि आउनु अघि फर्निचर खरिदमा अनियमितता भएको भन्दै कार्यपालिका सदस्यहरुले इटहरी उपमहानगरको पहिलो कार्यपालिकामा प्रश्न उठाएका हुन् ।

कार्यपालिका सदस्यको जिज्ञासाको सम्बोधन गर्दै उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले वडा सचिवहरुसँग छलफल गरेर केही वडाहरुमा नयाँ जनप्रतिनिधि बस्नको लागि केही थान कुर्सी र सोफा सेटहरु खरिद गरेको स्वीकार गरेका थिए ।

मेहताले कुनै बेला कार्यपालिकाले निर्णय गरेको भएकाले जनप्रतिनिधि रिक्त भएको समयमा नयाँ जनप्रतिनिधिको प्रयोगको लागि आफ्नै नेतृत्वमा फर्निचर खरिद गरिएको बताए ।
उनले कोही वडा अध्यक्षहरु मलाई कुर्सी चाहिदैन भन्नु हुन्छ कोही मलाई चाहियो भन्नु हुन्छ तर सबैलाई राख्नु त परो कसैको टेबल छैन कसैको छ त्यसैले सबैलाई एक रुपता ल्याउनका लागि आफुहरुले केही फर्निचर खरिद गरेको बताएका थिए ।

प्रमुख प्रशासकिय अधिकृत मेहताले कुनै बेला कार्यपालिकाले गरेको निर्णय अनुसार आफुले केही फर्निचर खरिद गर्दैमा गल्ति गरेको भए कारवाहीको भागिदार हुन राजी भएको समेत बताएका थिए ।पहिलो बैठकमा उपमहानगरले बिभिन्न विषयगत समितिको निर्माण गरेको छ भने अन्य विविध विषयमा छलफल समेत गरेको छ ।

कार्यपालिका बैठकमा सदस्यहरु मोवाइल फोनमा अभ्यस्त हुँदा मेयर पौडेलले कार्यपालिका सदस्य श्रीनारायण चौधरीलाई नामै तोकेर ‘सदस्य श्रीनारायण चौधरी ज्यु मोवाइल फोन स्वीच अफ गरिदिनुहोला ।’ भन्नु परेको थियो ।

बिभिन्न पाँच वटा बिषयगत समिति चयन गर्ने क्रममा एक जना संयोजक र एक पुरुष र एक महिला सदस्य रहनेगरी हुनुपर्नेमा महिला सदस्य कम हुँदा कतिपय महिला बस्नु पर्ने बिषयगत समितिको सदस्य पद रिक्त समेत रहेको छ ।

पहिलो कार्यपालिका बैठकले एसियाली विकास बैकको सहयोगमा आउने विकास कार्यक्रममा इटहरी उपमहानगरपालिका पनि छनौट भएको बताउँदै त्यस कार्यक्रममा सहभागी हुन इटहरी इच्छुक रहेको मेयर हेमकर्ण पौडेलको प्रस्तावलाई सदस्यहरुले पास गरेका थिए ।