भण्टावारीः भारतबाट लुकीछिपी रुपमा सुनसरी ल्याएको अवैध माल सामानहरु सुनसरी भन्सार कार्यालय कोशी व्यारेजले नियन्त्रणमा लिएको छ ।

सुनसरी भन्सार कार्यालय कोशी व्यारेजका अनुसार खुल्ला रहेको नेपाल भारत सीमा क्षेत्रको फाइदा उठाउदै लुकिछिपी रुपमा तस्करहरुले ल्याएको पेय पदार्थ र खाद्यान्नका सामानहरु नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा सुनसरीको भोक्राहा–नरसिंह गाँउपालिका क्षेत्रमा रहेको इरसाइल कामत नजिकबाट भारतमा उत्पादन भएको कोकाकोला पेय पदार्थ भन्सार गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

लौकही नाकाबाट ल्याएर को १ ख १७९३ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा एकलाख मुल्य बराबरको कोकाकोला नियन्त्रण लिएर भन्सार कार्यालयमा आवश्यक कानुनी कारवाहीका लागि लगिएको छ ।

पक्राउ गरिएको सवारीसाधनलाई ढुवानीको साधन र मालवस्तु सम्बन्धी मुद्दा दर्ता गरी कारबाही थालिएको छ ।

यसैगरि भोक्राहा–नरसिंह गाउँपालिकाबाटै १३ बोरा ६ सय ५० केजी चिनी सार्वजनिक यातायातमा लोडगरि रामधुनी नगरपालिकाको कान्छी चौक लैजादै गरेको अवश्थामा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ ।

यसअगाडि समेत सोही स्थानबाट अवैध रुपमा सुनसरी भित्र्याइएको मालसामान भन्सार गस्तीका क्रममा नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।
को २ च २७८० नम्वरको पिकअपमा लोड गरेको अवश्थामा करिब ९ लाख मूल्य बराबरको कपडासहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।