धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले बिहीबार(आज) बोलाएको कार्यपालिका बैठक कार्यपालिका सदस्यले बहिष्कार गरेपछि स्थगित भएको छ ।
बैठक बहिष्कार गर्ने कार्यपालिका सदस्यलाई मेयर साम्पाङ्गले आफ्नो फेसबुक पेजमार्फत व्यङ्ग्यात्मक शैलीमा धन्यवाद व्यक्त गरेका छन् ।
‘धराने जनता उपमहाननगरपालिकाअघि आएर सर्दु सेउती बेच्नु हुँदैन भन्दा बैठक बहिष्कार गर्नेलाई हार्दिक धन्यवाद’ भन्दै मेयर साम्पाङ्गले फेसबुक पेंजमा पोष्ट गरेका छन् ।
बिहीबार डाकिएको कार्यपालिका बैठकमा आएका वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरु उपमहानगरपालिकाको गेटमा आएर धर्नामा बसेका जनता देखेपछि बैठकमा सहभागी नभई बहिष्कार गरेर फर्किएका थिए ।
उपमहानगरपालिकाको अगाडि जनताहरु मेयर साम्पाङ्गले गरेको खोला ठेक्का नलगाउने प्रस्तावको समर्थन गर्दै उभिएपछि वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु बैठक बहिष्कार गरी फर्किएका हुन् ।
अघिल्लो बैठकमा मेयरले खोला ठेक्का नलगाउने प्रस्ताव गरेपछि वडाध्यक्षहरुले त्यसको विकल्प दिन भन्दै चर्को विरोध गरेका थिए ।