इटहरीः इटहरी रंगशालामा बिहीबार भएको प्रदेश नम्बर १ का जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा उदयपुरको फयुजन फुटबल क्लबले जित निकालेको छ ।
उद्घाटन सत्रपछि भएको प्रतियोगिताको पहिलो खेलमा फ्युजन फुटबल क्लब उदयपुरले पाँचथरको राइजिङ्ग स्टार फुटबल क्लबलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै जित हासिल गरेको हो ।
उदयपुरको तर्फबाट जर्सी नम्बर ८ का खेलाडी प्रविन राईले पहिलो हाफको ३ मिनेटमै एक गोल गरे भने दोस्रो हाफमा जर्सी नम्बर १२ का खेलाडी प्रविण श्रेष्ठले एक गोल गरेका थिए ।
बिहीबारको खेलमा फ्युजन फुटबल क्लब उदयपुरका जर्सी नम्बर १२ का खेलाडी प्रविण श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । म्यान अफ द म्याचलाई २ हजार १ सय रुपैँया नगद प्रदान गरिएको थियो । आजको विजेता उदयपुरले शनिबार मोतिराम स्पोर्टिङ्ग क्लब मोरङ्गको सामना गर्ने बताइएको छ ।
प्रतियोगितामा भोलि शुक्रबारको खेल कोदार फुटबल क्लब भोजपुर र देउराली फुटबल क्लब धनकुटाको बीचमा पहिलो र बाक्सिला फुटबल क्लब खोटाङ्ग र मानभारा स्पोर्टिङ्ग क्लब ताप्लेजुङका बीच हुने तालिका आयोजक इटहरी फुटबल क्लबका कोविदजंग कार्कीले जानकारी दिए ।