इटहरीः प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलाडीलाई उर्जा र हौसला प्रदान गर्न वर्षाको समय सुरु भइसकेपनि फुटबल प्रतियोगिताको आयोजना गरिएको बताएका छन् ।

बोर्डको आयोजनामा बिहीबारबाट इटहरीमा सुरु भएको प्रदेश १ का जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बोर्डका सदस्य सचिव वाग्लेले बजेट सकाउन नभई खेलाडीमा उर्जा भराउन फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए ।

IMG_1028

बोर्डको क्यालेन्डरमा भएको प्रतियोगिता अहिलेसम्म बाँकी नै रहेकाले यो फुटबल प्रतियोगिताको आयोजना भएको वाग्लेले बताए । उनले बजेट निर्माणमा व्यस्त सामाजिक विकास मन्त्री राजन राई उद्घाटन सत्रमा उपस्थित भइदिएकोमा धन्यवाद दिँदै खेलकुदका क्षेत्रमा बोर्डले माग गरेको बजेट उपलव्ध गराइदिन समेत मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

आफू सदस्य सचिव भएर आएको २ महिनामै खेलकुदलाई उर्जावान बनाउन लागिपरेको बताउँदै सरकारले खेल क्षेत्रलाई बुझेर बजेट विनियोजन गरे तिव्र गतिमा खेलका कार्यक्रमहरु सञ्चालन गरेर प्रदेश १ लाई एक नम्बरमै लैजाने दावी वाग्लेको थियो ।

IMG_1015

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले आफू खेलकुदलाई माया गर्ने व्यक्ति भएको र प्रतिपक्षमा रहँदा पनि सरकारलाई खेलकुदका गतिविधि तिव्र रुपमा अघि बढाउन दवाव दिँदै आएको बताए ।

मन्त्री राईले बोर्डको गठनसँगै प्रदेशमा खेलकुदका गतिविधी तिव्र रुपमा बढेको बताउँदै बोर्डका सदस्य सचिव लगायतको प्रशंसा समेत गरेका थिए ।
प्रदेश १ का ११ जिल्लाका फुलबल समुहको सहभागितामा सुरु भएको खेलको औपचारिक उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग कार्की, बोर्डका सदस्य रितेश श्रेष्ठ, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई, इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

IMG_0989

प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेशकुमार बिष्टले स्वागत गरेका थिए भने युवराज काफ्लेले कार्यक्रमको सञ्चालन गरेका थिए । बिहीबार भएको उद्घाटन खेलमा राइजिङ्ग स्टार फुटबल क्लब पाँचथर र फ्युजन फुटबल क्लब उदयुपरबीच प्रतिस्पर्धा भएको थियो । इटहरी फुटबल क्लबको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल असार १ गते हुने इटहरी फुटबल क्लबका अनुरोध थापाले जानकारी दिएका छन् ।