धरानः धरान उपहानगरपालिकाको बिहीबार बस्ने भनिएको कार्यपालिका बैठक कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि स्थगित भएको छ ।

अघिल्लो कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ्गले खोला ठेक्का नलगाउने भन्ने विषयलाई उठान गरेपछि बैठकमै चर्काचर्की परेको थियो । मेयर साम्पाङ्गले आफ्नो अडान नछोडेपछि कार्यदल बनाएर छलफल गर्ने शर्तमा स्थगित भएको बैठक आज (बिहीबार) २ बजेलाई बोलाइएको थियो ।

बिहीबार बोलाइएको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि मेयर साम्पाङ्गले कुन कदम चाल्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

बैकठ किन स्थगित भएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा मेयर साम्पाङ्गले उपमहानगरको गेटमा खोला ठेक्का लाग्नु हुन्न भन्ने पक्षमा धर्ना बसेका कारण अधिकांश कार्यपालिका सदस्यहरु फर्किएको भन्ने सुनेपनि आफूले आधिकारिक जानकारी नपाएको बताए ।

लोकतन्त्रमा जनता नै सर्वेसर्वा भएकाले धर्ना आन्दोलन गर्न पाउने बताउँदै मेयर साम्पाङ्गले कसैलाई पनि आफूले धर्ना गर्न नबोलाएको प्रष्ट पारेका छन् । मेयरले नै बोलाएर धर्ना बसाएको भन्ने पनि आएको भन्ने पत्रकारहरुको प्रश्नमा साम्पाङ्गले आफूले कसैलाई पनि नबोलाएको र यदी कसैले त्यस्तो प्रमाण दिन सक्छ भने आफू जवाफ दिन तयार रहेको बताएका थिए ।

अर्को बैठक कहिले राख्ने भन्ने सन्दर्भमा भने आफूले प्रमुख प्रशासकीय अधिकृतलाई बुझेर निर्णय लिने उनले बताए ।