धरानः धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले आफ्नो ५ वर्षे कार्यकालमा धरानका खोलाबाट खोलाजन्य सामग्री निकासका लागि ठेक्का नलगाउने घोषणा गरेसँगै उनका समर्थकहरुसमेतले उनको अभियानलाई साथ दिएका छन् ।

सोमबार बसेको धरान उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा धरानका खोला ठेक्का नलगाउने आफ्नो निर्णय रहेको मेयर साम्पाङले सुनाएपछि धरानका अधिकांश वडाध्यक्षहरुले विरोध जनाएका थिए । विरोधपछि उपमेयर अइन्द्रविक्रम बेघाको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो ।

उपमहानगरपालिकाको दोस्रो कार्यपालिका बैंठकका लागि आज(बिहीबार) मेयर साम्पाङले २ बजे बस्नेगरी सूचना जारी गरेका थिए । कार्यपालिका बैठक बस्ने सूचना पाएपछि बैठक बस्नुअघि नै निर्वाचनअघि मेयर साम्पाङलाई खोला उत्खनन रोक्ने आन्दोलनमा साथ दिनेहरु र अन्य नगरवासीहरु उपमहानगरपालिकाको गेटअगाडि खोला उत्खनन नगर्न माग गर्दै धर्नामा बसेका छन् ।

286461329_712306916491302_5453051667226267446_n

धरान उपमहानगर प्रमुख साम्पाङलाई खोला उत्खनन रोक्न कार्यपालिका सदस्यहरूलाई दबाब दिन साम्पाङका समर्थकहरुले गेटअगाडि धर्ना दिएका हुन् ।
कार्यपालिका बैठकमा लाइभमा देखेपछि खोला उत्खनन गर्न नहुने भन्दै धर्ना दिएको धरान ११ का दानबहादुर घिमिरेले बताए । उनले सबै राजनीतिक दललाई अवसर दिएपनि जनताको काम गर्न नसकेको बताए ।

धर्नामा सहभागी धरान ११ की गंगालक्ष्मी राईले धरानको पर्यावरण संरक्षण गर्नुपर्नेमा वडाध्यक्षहरुले खोला उत्खनन गर्न मेयर दबाब दिएको बताइन् । उनले भनिन् ‘मेयरलाइ आँैला उठाइउठाई दबाब दिएको छ । पहिलेका अध्यक्षलाई पनि यस्तै गर्थे कि अहिले मात्रै हो ?’ उनले पर्यावरण संरक्षण नगरे प्राकृतिक विपत्ति आउने बताइन् ।

उनले धरानको खानेपानीको मुख्य स्रोत सर्दु जलाधार र सेउती,सर्दु र लेउती खोला नै भएकाले पानीको स्रोत संरक्षणका लागि पनि खोला उत्खनन रोक्नुपर्ने बताइन् । उनले कार्यपालिका सदस्यले मेयरले के गल्ती गरेर औला ठडाउँदै दवाव दिएको भन्ने प्रश्न गरिन् ।

उनले विगतमा खोलाजन्य सामग्री बिक्रि गरेको ६ करोड रकमले के विकास भयो भन्ने थप प्रश्न गरिन् । धरान १५ का राम लिम्बूले खोला उत्खनन गर्न पाउनुपर्छ भन्ने कुराले वडाध्यक्षहरुको ठेकेदारसँग साँठगाँठ रहेको देखिने बताए ।

287138719_2563710317094752_6854219938764179631_n 287130066_2563710227094761_7081008928217331556_n 287172158_2563710600428057_807543083087792614_n 287166587_2563710093761441_4478192469936698542_n