विराटनगरः तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका १ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा चालक फेदाप गाँउपालिका ५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका ७ सल्लेरीमा बुधवार दिउँसो ट्याङकरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङकरले र बिपरित दिशा तर्फ जाँदै गरेको को ५ प २३३० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका चालक रामधुनी नगरपालिका ७ सुनसरीका २६ बर्षीय प्रेम घिसिङको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।