इटहरीः प्रदेश एक सरकारले खेलकुदका क्षेत्रमा आकर्षण बढाउन हरेक अन्तराष्ट्रिय खेल खेलेर पदक प्राप्त गरेका प्रदेश भरीका खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा खेलकुदका क्षेत्रमा सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै खेलकुदको विकासमा नीजि क्षेत्रलाई समेत सहभागी गराउने नीति लिइने बताइएको छ ।
प्रदेश सरकारले प्रादेशिक एंव जिल्ला र स्थानीय तहमा रहेका खेलकुद पुर्वाधारको स्तरोन्नती र निर्माणलाई निरन्तरता दिँदै प्रत्येक जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्रमा खुल्ला व्ययामशाला र कभर्डहलको निर्माण गर्दै लैजाने समेत नीति सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा साहसिक र पर्यटकीय खेलकुदका सम्भावनालाई अध्ययन गरी खेल पुर्वाधार विकास लागि निजी क्षेत्रसँग साझेदारी गर्ने साथै सम्पुर्ण माध्यामिक विद्यालयमा स्काउट विकासको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने बताएको छ ।
प्रदेश एक सरकारले प्रदेश तथा राष्ट्रिय स्तरमा खेलिने सबै प्रकारका खेलकुदलाई प्राथमिकतामा राखी खेलाडी तथा प्रशिक्षकको क्षमता विकास र प्रोत्साहन गर्ने र अपाँगता भएका व्यक्तिको समेत सहभागितामा खेलकुल प्रतियोगिताहरु सञ्चालन गर्ने नीति समेत अघि सारेको छ ।
सरकारले विद्यालय तहबाटै खेलकुदको विकासको आधार तय गर्न माध्यामिक विद्यालयमा एक जना शिक्षकलाई प्रशिक्षण प्रदान गरी खेलकुद शिक्षक तयार गर्ने र विद्यालयका खेलाडी सहभागी हुने जिल्ला र प्रदेश स्तरिय रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताहरु समेत सञ्चालन गरिने नीति प्रदेश सरकारले लिएको सरकारको नीति तथा कार्यक्रमले देखाएको छ ।