इटहरीः प्रदेश नम्बर एक सरकारले प्रदेशका प्रमुख पर्यटकिय गन्तव्यको विकास, ब्राण्डिङ्ग र बजारीकरणका लागि स्थानीयतह, पर्यटन सम्बद्ध संस्था र नीजि क्षेत्रसँग सहकार्य गर्दैै अगाडि बढ्नेगरी आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बुधबार प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश एक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका अन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न प्रादेशिक पर्यटन गुरुयोजना निर्माण गरि कार्यान्वयन प्रारम्भ गर्ने बताएका छन् ।

प्रदेश सरकारले मनोरन्जनका लागि आउने पर्यटकलाई लक्षित गर्दै हिल स्टेसन निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ भने पर्यटकको बसाई बढाउने गरी लामो तथा छोटो भ्रमणको प्याकेज निर्माण गरी विना झन्झट भ्रमण गर्ने वातावरण मिलाउन सेवालाई सरल र सहज बनाउने बताएको छ ।

त्यसैगरी प्रदेश एक सरकारले पर्या पर्यटनमा आधारित पर्यटकिय गन्तव्य स्थलहरुको विकास गर्ने र कृषि तथा पदयात्रा पर्यटनको माध्यमबाट ग्रामिण स्तरमा आयआर्जन एंव रोजगारीको सिर्जना गर्ने समेत योजना राखेको छ । सरकारले मुन्धुम पदमार्गको बाँकी निर्माण कार्य सम्पन्न गर्ने समेत नीति लिएको छ ।

यसैगरी भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि प्रादेशिक संस्कृति नीति तर्जुमा गरी कार्यान्वायनमा ल्याउने र लोपोन्मुख तथा सीमान्तकृत समुदाय एंव किँरात, लिम्बु , धिमाल, थारु, कोच लगायतको सभ्यता र संस्कृतिको अध्ययन अनुसन्धान गरी पर्यटकीय सम्पदाको रुपमा विकास गर्ने नीति समेत छ ।

प्रदेश सरकारले प्रदेश भित्र रहेको बिभिन्न जात जातिको पहिचानको रुपमा रहेको ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि धनकुटामा रहेको प्रादेशिक संग्रहालयलाई बहुसास्कृतिक संग्रहालयको रुपमा विकास गरिने बताएको छ ।

प्रदेश सरकारले किराँत सभ्यातासँग जोडिएको सप्तकोशीको खुवालुङ्गको संरक्षण र सम्पर्दन गर्ने र बराहाक्षेत्रमा पर्यटकिय विकासमा सहयोग पुग्नेगरी आकर्षक झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

यसैगरी विराटनगरको विमानस्थलको स्तरउन्नतीको लागि संघ, प्रदेश र स्थानीय हतको सम्वन्वय गर्ने र विराटनगरबाट अन्तरप्रदेश तथा प्रदेश भित्रका पहाडी बिमान स्थलहरुमा हवाई उडान समेत सन्चालन गर्न सहजिकरण गर्ने नीति आगामी आर्थिक बर्षमा लिएको छ ।