धरानः स्वच्छ धरान बनाउने संकल्पका साथ अघि बढेका धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ्गको योजनालाई सहयोग पुर्याउने उद्देश्यका साथ मेगा बैँक धरान शाखाले डस्वीन प्रदान गरि सहयोग गरेको छ ।

मेगा बैँकको सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार एक कार्यक्रमको आयोजना गरी १० वटा प्लाष्टिकको डस्वीन उपमहानगरका मेयर हर्क साम्पाङ्गलाई हस्तान्तरण गरिएको हो ।बैँकले हस्तान्तरण गरेको डस्वीन स्वीकार गर्दै मेयर साम्पाङ्गले जथाभावी फाहोर फालेर हिड्ने नराम्रो बानी नेपालीको भएको भन्दै सस्कार सिक्नमा आफै लाग्नु पर्ने बताए ।

आफुहरु सांकेतिक रुपमा केही कामहरु गर्दै गरेको बताउँदै यही कामलाई अगाडी बढाउनको लागि मेगाले गरेको सहयोगमा उनले आभार व्यक्त गरेका थिए । उनले धरानवासीलाई भानु चौक भएर पास हुने सबैलाई फोहोर मैला डस्वीनमा फाल्न आग्रह गरेका थिए । डस्वीनमा होटलबाट निस्किएको फोहोर नफाल्न आग्रह गर्दै उनले अन्य फोहोर फाल्न डस्वीनको प्रयोग गर्न आग्रह गरे ।

‘सफाई अभियान गर्दै गर्दा डस्वीन आवश्यक छ भन्ने लागेपछि केही डस्वीन राख्यौ, तर मानिसले त्यसमा पनि फोहोर राख्दैनन् । हामीले बानीमा सुधार गर्नुपर्छ,’मेयरले भने,‘यी डस्वीनहरुलाई ठाउँ ठाउँमा राख्छौ । म अनुरोध गर्छु, धरानवासी, यातायात मजदुर, व्यापारी र धरानको भानुचोक भएर यात्रा गर्ने सबैलाई आफुमार्फत हुने फोहोर जथाभावी नफालौं, यी डस्वीनहरुमा व्यवस्थितरुपमा फालौं ।’ मेयरले कार्यक्रममा भने ।

Mega-Dharan-Support-1

धरान उपमहानगरपालिकाको स्वच्छ शहर बनाउन अभियानमा सहयोग गर्न मेयर साम्पाङ्गले आग्रह गरे । उनले मेगा बैँकले गरेको सहयोगको लागि धन्यवाद दिँदै अन्य कोही संस्थाले पनि यस्तो सहयोग गर्न चाहे गर्न पनि मेयर साम्पाङ्गले अनुरोध गरेका थिए ।

मेघा बैंकका प्रदेश प्रमुख विवेक बन्धु न्यौपानले मेयर साम्पाङलाई डस्वीन हस्तान्तरण गरेका थिए । मेगा बैंकका प्रदेश १ प्रमुख न्यौपानेले भानुचोकमा सरसफाई कार्यक्रम हुँदा मेघा बैंकले पनि सहभागीता जनाएको र त्यसबेला नै डस्वीनको आवश्यकता देखेको बताएका थिए ।

कार्यक्रममा धरानको भानुचौक रहेको वडा वडा नं २ का अध्यक्ष रमेश राईले बैंकले दिएको डस्वीनहरुलाई धरान भानुचोक क्षेत्रको विभिन्न स्थानमा राखिने र त्यसको रेखदेख वडाले गर्ने बताए । भानुचोक क्षेत्रलाई धुँवा, धुलोरहित बनाउन वडा कार्यालय तत्परता लिइरहेको भन्दै अध्यक्ष राईले बजार क्षेत्रलाई सुन्दर बनाउन उपमहानगरपालिकाबाट पनि सहयोगको अपेक्षा व्यक्त गरे ।