इटहरीः अबदेखि घर बनाउने प्रयोजनका लागि एक सय ३० वर्गमिटर (४आना) भन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने भएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावली २०७९ मा काठमाडौँ उपत्यकाका लागि यस्तो व्यवस्था गरिएको हो ।
उपत्यकामा आवासीय क्षेत्रको वर्गीकरणमा परेको जग्गा ४ आनाभन्दा कम कित्ताकाट नहुने भएको हो । त्यसैगरी कृषिको वर्गीकरणमा परेको जग्गा भने १५।७६ आना (५ सय वर्गमिटर) भन्दा कम हुनेगरी कित्ताकाट गर्न बन्देज लगाइएको छ ।
तराइ र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१।२२ आना वा ३९।८६ धुरभन्दा कम कित्ताकाट नहुने भएका छन् भने बाँकी अन्य स्थानमा ३१।४५ आना वा ५ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने ब्यवस्था गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सो भूउपयोग नियमावली सोमबारै राजपत्रमा प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भएपछि स्वतः कार्यन्वायनमा जाने व्यवस्था छ ।