धरानः नेपाली कांग्रेस धरान उपमहानगर कमिटीले बैशाखमा पार्टीबाट राजीनामा दिएका कार्यकर्तालाई कारबाही गर्न केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेसका सुनसरी क्षेत्र नम्बर १ प्रदेशसभा १ का उपसभापति प्रदीप शाक्यसहित १४ जना कार्यकर्ताले गत बैशाख १३ गते नै पार्टीको धरान उपमहानगर कार्यसमितिमा आफ्नो राजीनामा दिएका थिए । तर राजीनामा दिइसकेको व्यक्तिलाई पनि कारबाही सिफारिस गर्दै धरान कांग्रेसले सोमबाार संघीय कार्यसमितिमा पत्र पठाएको छ ।
धरान कांग्रेसको मेयरका प्रत्यासी किशोर राई समेतको उपस्थितिमा सोमबार बसेको बैठकले प्रशिद शाक्य , नेपाल महिला संघ सुनसरी जिल्ला सचिव निर्मला शाक्य र एकराज राई समेतलाई कारबाही सिफारिस गर्दै बहिस्कारसमेत गर्न भनेको थियो ।
एकराज राई बाहेकका दीपक शाक्य, सत्यलक्ष्मी बज्राचार्य, सेलेष्टि शाक्य, रञ्जना शाक्य, लक्ष्मी शाक्य, सागर शाक्य, सरिता शाक्य, भरत शाक्य, जानकी बज्राचार्य र बवी श्रेष्ठले बैशाख १३ गते सामुहिक राजीनामा गरेका थिए । उनीहरुले सुनसरी क्षेत्र नम्बर १ प्रदेशसभा १ कार्यसमिति र नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ कार्यसमितिलाई राजीनामाको बोधार्थ दिएका छन् ।
शाक्यले उम्मेदवार सिफारिसको समयमा गत बैशाख ९ गते नै वडा सभापति र अन्य केही पार्टीका कार्यकर्ताले आफ्नो नाम हटाउन दबाब दिएको भन्दै लोकतान्त्रिक पार्टीमा यस्तो चरित्रहत्या गर्ने व्यवहार ठीक नभएको भन्दै आफूले राजीनामा दिएको बताएका थिए । उनले राजीनामा पत्रमा आफूलगायत १४ जनाले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको खुलाएका छन् ।