धरानः धरान उपमहानगरपालिकाको ४ छोटी मोरङमा निर्माण भएको चालिस फिट अग्लो भगवान बुद्धको मूर्ति सोमबार अनावरण गरिएको छ ।

४० फिटको बुद्धको मूर्ति प्रदेश नम्बर १ का प्रमुख पर्शुराम खापुङले अनावरण गरेका हुन् । मूर्ति अनावरण कार्यक्रममा बोल्दै प्रेदश प्रमुख खापुङ्गले ४० फिटको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा सूर्योदय बुद्ध बिहारका प्रमुख भिक्षु मेधङकर स्थवीरले बिग बुद्ध निर्माण भएसँगै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।मूर्ति धरान ४ स्थित सूर्योदय बुद्ध बिहारद्वारा ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

धरानबाट उकालो लागेपछि भेडेटारनजिकै छोटीमोरङ थुम्कीडाँडामा सो मूर्ति निर्माण भएको सूर्योदय बुद्ध बिहारका अध्यक्ष प्रदीप थापामगरले जानकारी दिए ।

बिग बुद्धको प्रतिमा निर्माणका लागि उपमहानगरपालिका, सुनसरी जिल्ला वन कार्यालय र वन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले १५ बिघा ८ कट्ठा जग्गा सूर्योदय बुद्ध बिहारलाई धार्मिक वनअन्तर्गत उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही जग्गामा निर्माण भएको बिग बुद्धको प्रतिमाले बौद्ध धर्मावलम्वीमा खुसियाली छाएको छ भने धरानको पर्यटनसमेत प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।