धरानः नेपाली कांग्रेस धरान उपमहानगर कमिटीले आफ्नै पार्टीका उम्मेदवार हराउन लागिपर्ने नेताहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
पार्टीको धरान–१२ नम्बर वडा समितिको सामबार बसेको बैठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा धरान–१२ मा वडाध्यक्षका उम्मेदवार विष्णु तामाङ पराजित भएपछि आफ्नै पार्टीका कार्यकर्ताबाट अन्तर्घात भएको भन्दै उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ –क) प्रदेश क्षेत्रीय उपसभापति प्रदीप शाक्यले भूमिका खेलेको निस्कर्ष निकाल्दै शाक्य सहितका नेतालाई कारबाही सिफारिस गरिएको छ ।
बैठकले शाक्यसहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले समेत कांग्रेस उम्मेदवार हराउन लागिपरेको भन्दै उनीहरुलाई पनि कारबाहीको सिफारिस गरेको छ ।
बैठकपछि वडाध्यक्षका उम्मदवार बनेका नेपाली कांग्रेसका विष्णु तामाङ र पार्टीका वडा सभापति सरोज भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारबाही सिफारिस गरेको जनाएका छन् ।
पार्टीका उम्मेदवारलाई हराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तीन जना नेताहरूलाई पार्टीबाट आजीवन बहिस्कार गरिने विज्ञप्तिमा उल्लेख छ । त्यससँगै अनुशासनको कारबाहीस्वरूप साधारण सदस्यसमेत नरहने गरी उनीहरुको निलम्बनका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।