इटहरीः सुनसरीको रामधुनी नगरपालिकाको आयोजना तथा गैह्रसरकारी सँस्था प्याक्ट र साहसको सहजीकरणमा सोमबार सुशासन र जवाफदेहिताबारे छलफल तथा अन्तरक्रिया गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनामा पाँच वर्ष काम गरेको गैह्रसरकारी सँस्था प्याक्टले आफ्नो कार्यकालको उत्तरार्धमा आफूले गरेको योजना र प्रगति सुनाउँदै नगरपालिकालाई कार्यक्रममा सहजीकरण गरेको हो ।

सामाजिक जवाफदेहिताको अभ्यास र प्रवद्र्धनमा स्थानीय सरकारको भूमिकाका विषयमा समेत कार्यक्रममा सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिएको थियो ।

कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै प्याक्टका कार्यक्रम प्रबन्धक अश्मिन भट्टराईले आफूहरुले पाँच वर्ष नगरपालिकाको सहजीकरणमा स्वास्थ्य क्षेत्रमा महिला स्वयंसेविकाहरुको लागि सहजीकरण गर्ने गरी मोबाइल एप्लिकेसन निर्माण गरेको लगायतका कामको विवरण प्रस्तुत गरेका थिए ।

आफूहरुले पाँच वर्षमा सामाजिक जवाफदेहितासम्बन्धी ४१ वटा अध्ययनहरु पूरा गरेको तथा नागरिक समाजको सल्लाहकारको भूमिकामा काम गरेको भट्टराईले बताए ।
कार्यक्रममा नगरको योजना विकासमा जवाफदेहिता र पारदर्शिता बनाउन रामधुनी नगरपालिकाले सुझावसमेत संकलन गरेको थियो ।

रामधुनी नगरपालिकाले समाजिक जवाफदेहिता तथा सुशासनका सूचकहरुमा सुधारको प्रयास तथा प्रवद्र्धन गर्दै आएपनि सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण प्रभावकारी नरहेको सहभागीले सुनाएका थिए । जवाफमा प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले आफूहरुले सूचना सार्वजनिक गर्दा पनि सार्वजनिक सुनुवाइमा जनसहभागिता कम भएको बताएका थिए ।

285800900_474623897800506_3725268095376483071_n

सहभागीले योजनाहरु पारदर्शी ढङ्गले सार्वजानिक गरी प्रत्यक्ष गुनासो तथा सुझाव लिने सार्वजानिक सुनुवाइलाई नयाँ ढंगले लानुपर्ने सुझाव दिएका छन् ।
सहभागीले अनलाइन डिजिटल प्रविधिको एप्स, इमेलबाट व्यवस्थापन गरी आएको गुनासाहरुको सम्बोधन गर्नुपर्ने बताए ।

सुशासनका सवालहरु प्रशस्त आएपनि नगरले अहिलेसम्म सुशासन ऐन बनाउन नसेको पाइएको छ । जवाफदेहिता बहुसरोकारवाला मञ्चको आयोजनामा भएको सो अन्तरक्रृयात्मक गोष्ठीमा मञ्चको समिति पुनर्गठन भएको छ । नवनिर्वाचित जनप्रतिनिधि आएपछि नगरप्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा सहअध्यक्ष उपप्रमुख तारा थापा लगायतका अन्य सदस्यहरुको सहभागितामा समिति चयन गर्दै पुनर्गठन भएको योजना शाखाका हर्षलाल चौधरीले बताए ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गरिरहेकी स्वयंसेविका जानकी चौधरी, बक्लौरी स्वास्थ्य चौकीमा प्रतिनिधिले स्वास्थ्यकर्मीले भोगिरहेका समस्याको उठान गरेका थिए ।
नगरपालिकाको सूचना प्रविधि शाखाका वसन्त मोतेले स्वास्थ्य एपमार्फत् समेत जनगुनासाहरु आउने गरेको र आएका गुनासाको प्राथमिकताका आधारमा कुनैको तत्काल सम्बोधन हुने र कुनै गुनासालाई सम्बन्धित शाखामा पठाइने बताए ।

नगर उपप्रमुख तारा थापाको सभापतित्वमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ तथा पत्रकारका प्रतिनिधिहरुका साथै नगरपालिकाका विभिन्न शाखाका कर्मचारीको उपस्थिति रहेको थियो ।