झापाः भारतको पश्चिम बंगालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभ रोय चौधरी नक्कली नोट बोकेको अभियोगमा बिगत सात महिनादेखि झापा कारागारमा थुनामा छन् ।

उनी गत मंसिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकरभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए ।

चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा उनको साथमा एक सय डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए ।

गत मंसिर २४ गते झापा जिल्ला अदालतमा पेश गरिएपछि उनलाई खोटा मुद्रा सम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरिसकेको प्रवक्ता पाठकको भनाई छ । अदालतको आदेशपछि उनी झापा कारागारमा छन् ।

घरमा आमा मात्र रहेका चौधरी ‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपालको पहाडी पर्यटकीय स्थानहरुको यात्राका लागि नेपाल आएको उनले झापा जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ ।

हाल झापा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको चौधरीको मुद्दामा चासो बढेको पाइएको छ । सात महिनादेखि झापामा प्रहरी हिरासत र कारागारमा रहेको उनको अवस्थाको बारेमा भर्खरै मात्र सार्वजनिक भएको हो ।

यसैबीच, भारतीय फोटो पत्रकार चौधरी निर्दोष रहेको भन्दै उनको रिहाइका लागि पहल गर्न थालिएको छ । उनी नक्कली नोटको कारोवारी नभएको दावी गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका प्रदिपराज पन्तले रिहाइका लागि अनुरोध गरेका छन् । उनले चाँडोभन्दा चाडो मुद्दाको छिनोफोनो हुनुपर्ने माग गरेका छन् ।

नेसनल जिओग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डिया लगायतका सञ्चारमाध्यममा चौधरीले फ्रिलान्सर फोटो पत्रकारको रुपमा काम गरेको र उनको आफ्नै ‘स्निपर मंक ट्राभल्स’ नामक युट्युब च्यानल सञ्चालनमा रहेको अध्यक्ष पन्तले जानकारी दिए ।

चौधरीले नक्कली मुद्रा अपचलनका लागि नभएर भिडियो सुटिङका लागि मात्र अमेरिकी डलरको फोटोकपी गरेको पाइएको हुँदा उनको रिहाइ हुनुपर्ने माग गरिएको अध्यक्ष पन्तले बताए । रासस