इटहरीः प्रदेश १ को जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिता आउँदो बिहिबारदेखि इटहरी रंगशालामा हुने भएको छ ।
प्रदेश खेलकुद विकास बोर्डको प्रदेश नम्बर एकको आयोजना तथा इटहरी फुटवल क्लवको संयोजनमा हुन लागेको फुटवल प्रतियोगितामा प्रदेशका ११ वटा टिमहरुको सहभागीता हुने प्रदेश खेलकुद विकास बोर्डले जानकारी दिएको छ ।
जेठ २६ गतेदेखि शुरु हुने खेल असार १ गतेसम्म चल्ने र खेलमा प्रदेश एकका ११ समुहवीच प्रतिस्पर्धा हुने छ ।
प्रदेश पोर्टललाई प्राप्त टाइसिटको आधारमा नकआउट फुटवल प्रतियोगितामा राइजिङ्ग स्टार स्पोर्टिग क्लव पाँचथर , फ्युजन फुटवल क्लव उदयपुर,कोदार फुटवल क्लव भोजपुर , देउराली फुटवल क्लव धनकुटा , बाक्सिला फुटवल क्लव खोटाङ्ग , मानभारा स्पोर्टिङ्ग क्लव ताप्लेजुङ्ग सहभागी हुने भएका छन् । यसैगरी प्रतियोगितामा धरान फुटवल क्लव सुनसरी र खाँदवारी युथ क्लव संखुवासभा, मोतीराम स्पोर्टिग क्लव मोरङ्ग,देउराली फुटवल क्लव धनकुटा, रेडहर्स फुटवल क्लव इलाम र शनिश्चरे फुटवल क्लव झापाको सहभागीता रहने छ ।
खेलमा सहभागी टिम मध्येबाट प्रथम स्थान हासिल गर्ने टिमलाई नगद २ लाख र दोस्रो हुने टिमलाई नगद १ लाख रुपैँया पुरस्कार मेडल र प्रमाणपत्र प्रदान गरिने इटहरी फुटवल क्लवका केशक कार्कीले बताए ।
प्रदेशका फुटवल प्रेमीलाई खेलमा रुचि बढाउन र हौसला दिन आर्थिक बर्षको ढिलै भएता पनि प्रतियोगिताको आयोजना गरिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश बिष्ट बताउँछन् ।