धरानः परिवर्तनका लागि सामाजिक अभियानले सामाजिक स्वास्थ क्लिनिकको १७ औं संस्करण सिद्धि नेवाः परिषद् , धरान–७ को सहकार्यमा सम्पन्न गरेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको उक्त क्लिनिकमा विषेश गरि मुटु , मधुमेह , रक्तचापको परिक्षण गरिएको थियो । धरान र धरान बाहिरका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको लागि आयोजना गरिएको उक्त निःशुल्क क्लिनिकमा १०५ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो ।
हालसम्मको निःशुल्क स्वास्थ्य क्लिनिक क्लिनिकमा परिक्षण गरिएको बिरामीहरुको संख्या मध्ये यस पटक सबैभन्दा धेरै विरामीहरुको जाच गरिएको समाजका अध्यक्ष विष्णु बरालले बताए । बरालले भने “यो सामाजिक स्वास्थ्य क्लिनिक सुरुवात देखि ९ औं संस्करणसम्म धरान मोडल कलेजमा आयोजना गरेका थियौं, उक्त कार्यक्रम वडा –वडामा आयोजना गर्ने लक्ष्य अनुरुप वडा नं १८ २, १, १३, ३, २, १२ र ८ हुदै १७ औं संस्करण धरान –७ सिद्धि नेवाः परिषद्सगँको सहकार्यमा सम्पन्न गरेका हौं, यस पटक सबैभन्दा धेरै विरामी परिक्षण गरेका छौं” ।
त्रिभुवन बरालको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा अभियानका अभियानकर्मी मोहन श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, हेम ढकाल, निशान नेपाल साथै “सिद्धि नेवा परिषद् “ का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ र कार्यसमिति सदस्य सरोज श्रेष्ठ लगायत उपस्थिति रहेको थियो । त्यसैगरी वी.पी कोइराला स्वास्थ प्रतिष्ठानकी स्टाफ नर्स निर्मला बास्तोलाले रक्तचाप परिक्षण तथा अन्य सहयोग गरेकी थिइन ।
निशाल नेपालले सञ्चालन गरेको औपचारिक समापन कार्यक्रममा सिद्धि नेवाः परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले येस अभियानसंग सहकार्य गर्न अवसर पाएको आभार व्यक्त गरे साथै धरानलाई माया गरि यस अभियानलाई सफल पार्ने अनवरत रुपमा लाग्नुहुने डा. प्रशान्त शाहलाई पनि धन्यवाद दिएका थिए ।