लेटाङः मोरङको लेटाङ नगरपालिकाले वर्षायाममा हुनसक्ने विपत्को जोखिम कम गर्ने उद्देश्यले पूर्वतयारी थालेको छ । नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौला सहितको टोलीले शनिबार नगरपालिकाका विभिन्न खोलाले वर्षायाममा क्षति पुर्याउन सक्ने ठाउँहरुको अनुगमन गरी रोकथामका लागि अपनाउन सकिने सावधानीको विधिका बारे जानकारी लिइन् ।
अनुगमन टोलीमा नगरका प्रमुख, उपप्रमुखसहित प्रमुख प्रकासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इञ्जिनियर भानुभक्त राई, सञ्चारकर्मी तथा सम्बन्धित वडाका वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो । यसअघि बाढीले क्षति पुर्याइसकेपछि मात्र चासो दिने गरिएकोमा बेलैमा रोकथाम गरेमा क्षति कम हुने भएकाले यस पटक नगरपालिकाले अग्रिम तयारी थालेको नगरपालिकाका प्रमुख लावतीले बताए ।
“बाढीले बस्ती बगाएपछि तारजाली लिएर खोलामा कुद्ने चलन छ । राहत लिएर चाउचाउ र बिस्कुट बाँड्न कुद्ने गर्छौँ तर अब त्यसरी हुँदैन ।” उनले भने, “यसपटक बाढीले सकेसम्म कम क्षति पुर्याओस् भनेर खासगरी मानवीय बस्ती भएका ठाउँमा रोकथाम गर्ने उद्देश्यका साथ हामी लागिपरेका छौँ ।” वर्षायाम सुरु हुनै लागेकाले नगरको पहिलो प्राथमिकता मानव बस्ती भएका ठाउँहरु रहेको भन्दै उनले जोखिम क्षेत्र धेरै भएपनि प्राथमिकताका आधारमा काम अघि बढाउने बताए । तत्काल गर्न सकिने काम तत्काल गर्ने, दीर्घकालीन योजना बनाएर अघि बढाउनुपर्ने काम सोहीअनुसार अघि बढाउने नगरको योजना रहेको प्रमुख लावतीले बताए ।
शनिबार भएको अनुमगनका क्रममा लेटाङ १, ६ र ३ हुँदै बग्ने चिसाङ खोला आसपासका बगुवा, लामिटार र लोखरा क्षेत्रमा बढी जोखिम देखिएकाले त्यस क्षेत्रमा रोकथामका लागि काम गर्न आवश्यक देखिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन् । यसैगरी, चिसाङको लोखारामा र लेटाङ ९ को तेली खोलामा रहेका पैनीहरुसमेत खोलाको जोखिममा रहेकाले त्यसका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिएको उपप्रमुख निरौलाले जानकारी दिइन् ।
शनिबार अनुगमन मात्र गरिएकाले अब त्यस ठाउँका स्थानीयवासीसँग थप सल्लाह गरी लागत स्टिमेट तयार गरेर काम अघि बढाउने नगरपालिकाको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषेत्तम घिमिरेले बताए । कतिपय ठाउँमा निकै ठूलो बजेट आवश्यक देखिएपनि धेरै ठाउँहरुमा नगरकै बजेटबाट समेत जोखिम नियन्त्रणको काम गर्न सकिने देखिएको इञ्जिनियर भानुभक्त राईले जानकारी दिए । अनुगमनका क्रममा लेटाङ १ का वडाध्यक्ष विष्णुकुमार मगर, ५ का वडाध्यक्ष भूम सूर्यमगर, ६ का वडाध्यक्ष जंगवीर तामाङ, ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेल र ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडालगायत सरोकारवाला क्षेत्रका बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।