इटहरीः फागुनको सुरुतिरबाटै तराइमा गर्मी बढ्छ । अत्याधिक गर्मी बढेपछि कहाँ जाने ? के गर्ने ? भन्ने चिन्ताले जनजीवनलाई अस्तव्यस्त नै बनाइदिन्छ । गर्मी बढेसँगै घरको सिलिङ्गमा फ्यान पनि घुम्न अल्छि गरेजस्तै गर्छ अर्थात भोल्टेजको समस्या आउँछ । त्यो हामी नेपालीको साझा समस्या हो । कतिपयलाई गर्मी बढेसँगै घमौरा शरीरभरि आँउछन्, औषधि पसलबाट पाउडर लगाइराख्दा पनि घमौरा सकिन गर्मी महिना सिङ्गै कुर्नुपर्छ ।
तराइको त्यही अस्तव्यस्ततालाई चिर्न सुनसरीको इटहरीमा यीप्पी ल्याण्ड खुलेको छ । यीप्पी ल्याण्ड एउटा गर्मी भुलाउने र मन शान्त गराउन पानीमा खेल्न सकिने क्रिडास्थल हो । यीप्पी ल्याण्डमा पानी मात्र होइन, रमाइलोका लागि खेलिने सुख्खा फनपार्क पनि छ । पानीमा खेल्न सकिने स्लाइडदेखि लिएर एम्युजमेन्ट राइडहरुसमेत समावेश भएको यो पार्क इटहरीको वेट एण्ड डिनो एम्युजमेन्ट वाटरपार्क नामक कम्पनीले स्थापना गरेको पार्क हो ।
पूर्वी तराइका नेपालीका लागि उत्कृष्ट रमाइलो गन्तव्यको रुपमा चिनिएको यो पार्क २०७६ साल चैत्रमै सञ्चालन गर्न खोजिएको भएतापनि कोरोना महामारीका कारण ढिलो गरी सञ्चालनमा आएको हो । २०७७ साल फागुन १७ गते तत्कालीन संघीय सरकारका पर्यटन मन्त्री भानुभक्त ढकालबाट उद्घाटन गरिएको यीप्पील्याण्ड उद्घाटनको २ महिना नपुग्दै पुनः भएको लकडाउनले बन्द हुन पुगेको थियो । अहिले भने कोभिडको महामारी कम भएपछि राम्रै सञ्चालन भइरहेको छ यीप्पी ल्याण्ड ।
सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा औसत ५ सयको हाराहारीमा ग्राहक आउने गरेको यीप्पी ल्याण्ड व्यवस्थापनको भनाइ छ । सार्वजनिक बिदाको दिनमा भने अहिले १ हजारदेखि १२ सयसम्म ग्राहकहरु आउने गरेका छन् ।सबै पक्षबाट पानीमा खेलिने खेलले शरीरलाई राम्रो व्यायाम दिने र त्यसपछि मिठो निद्रासमेत पाइने हुँदा पानीमा खेल्ने धेरैको रुची हुन्छ । त्यहाँमाथि पौडी खेल्दा त झनै शरीरका धेरै अङ्गहरु चलायमान हुने भएकाले पनि धेरै स्वास्थ्य विज्ञहरले पौडी खेल्ने सल्लाह दिने गर्छन् ।
पानीमा खेल्न बनाइएका स्लाइडहरुमा र पानी पोखरीमा पौडी खेल्नको लागि विशेष कपडाको आवश्यकता पर्छ । सुरक्षाको कारणले पनि हामीले प्रयोग गर्ने सबै कपडामा पौडी खेल्न मिल्दैन । पानी पोखरीमा आउने ग्राहकले सकेसम्म आफुलाई स्वीमिङ्ग कष्टम लिएर आउन र कम्तिमा सबै स्लाइडहरु भ्याउने गरी कम्तीमा ३ घण्टाको समय लिएर आउन यीप्पी ल्याण्ड व्यवस्थापनको अनुरोध छ ।
के के छन् सुविधाहरु ?
यीप्पी ल्याण्डभित्र वाटर पार्क र एम्युजमेन्ट पार्क गरी दुई वटा सेक्सन छन् । तोकिएको शुल्क तिरेर पार्कभित्र प्रवेश गरेपछि दुवै पार्कमा मज्जाले खेल्न सकिन्छ । बच्चाको लागि किड प्ले एरिया पनि छ । त्यति मात्र नभएर रेन डान्स, नानो कार रेस, हेलिकोप्टरका साथै परिवारको लागि फेमिली र्याफ्ट र क्रुसाडर स्लाइड अनि मिडियम स्लाइड, मल्टि ल्याण्ड स्पिड स्लाइड, वेभ पुल आदि आकर्षक मनोरञ्जनात्मक सुविधा यहाँ उपलब्ध रहेका छन् ।
पार्कभित्र खाजाका लागि ४ वटा रेस्टुरेन्टहरु पनि छन् जहाँ गर्मीलाई मार्ने खानेकुराहरुसमेत सुपथ मुल्यमा उच्च स्वच्छता व्यवस्थापन गरेर राखिएका छन् ।
स्विमिङ्ग कस्टम नलिई आउने ग्राहकको लागि भाडामा स्विमिङ्ग कस्टमहरु दिने व्यवस्था मिलाइएको छ भने पानीमा खेल्ने ग्राहकका सामानलाई सुरक्षित राख्न लकर सुविधा राखिएको छ । ग्राहकले लकर पनि सिमित शुल्क तिरेर भाडामा लिन सक्छन् ।
त्यति मात्र नभएर ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै व्यवस्थापनले स्विमिङ्ग पुलमा लाइफ गार्डको समेत व्यवस्था गरेको छ । अकस्मात कोही ग्राहकलाई मेडिकल सेवा दिनु परेमा पारामेडिक समेत राखिएको छ । पारामेडिकबाट ठिक नहुने खालको अवस्था आएमा तुरुन्त नजिकको अस्पतालसम्म पुर्याउने व्यवस्थासमेत गरिने यीप्पी ल्याण्डका व्यवस्थापन हेरिरहेका ज्ञानविक्रम शाह बताउँछन् ।
कसरी जन्मियो इटहरीमा यीप्पी ल्याण्ड ?
जगत बस्नेतले काठमाडौँको चोभारमा हुप्पी ल्याण्ड एम्युजमेन्ट एण्ड वाटर पार्क सञ्चालन गरेको निकै समय भयो । धेरैजसो चिसो रहने राजधानीमा सञ्चालन भएको हुप्पी ल्याण्डले राम्रो व्यापार गरेपछि प्रदेश १ प्रहरी कार्यलय रानी विरानगरमा डीआईजी रहेका ज्ञानविक्रम शाहलाई जगतबाट अफर आयो तराइमा एउटा पार्क सञ्चालन गर्नुपर्छ भनेर । जागिरबाट ‘रिटायर’ हुन लागेका शाहलाई अवकाश पछिको जीवन व्यापारभन्दा पनि आरामले जिउनुपर्छ भन्ने लागेको थियो । तर आफन्तबाटै आएको प्रस्तावलाई उनले नकार्न सकेनन् ।
शाहले इटहरीका व्यापारिक घराना अर्थात् उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेललाई भेटेर आफूहरुले वाटर पार्क सञ्चालन गर्ने सोचेको र उपयुक्त जग्गाको खोजीमा रहेको सुनाए । नभन्दै समस्याको समाधान भयो । भीम पौडेलले इटहरीमा आफ्नो जग्गा रहेको र उपयुक्त लागे त्यहीँ सञ्चालन गर्न सकिने सुनौलो प्रस्ताव ल्याए ।
शाह र पौडेलको प्रस्ताव काठमाडाँै पुगेपछि काठमाडौँबाट कृष्ण बस्नेत र जगत बस्नेतको टोली प्राविधिकसहित इटहरी आए र जग्गाको अवलोकन भयो । त्यसपछि चारै जनाको लगानीमा इटहरीमा यीप्पी ल्याण्डको काम सुरु भयो । अहिले सबै लगानीकर्ताको सपना सार्थक बनिसकेको छ । बस्नेतद्वय पूर्वडीआईजी शाहका नातेदार हुन् । पार्कमा भैपरी आउने व्यवस्थापनको सम्पूर्ण जिम्मा शाहलाई दिइएको छ ।
कहाँ छ यीप्पी ल्याण्ड ? कसरी जाने ?
यीप्पी ल्याण्ड इटहरी चौकबाट करिब ६ किलोमिटर भित्र इटहरी वडा नम्बर २ मा पर्छ । इटहरी पूर्व लाइनको ओम आयल सप्लायर्सबाट उत्तरतर्फ तालतलैया जाने बाटोबाटै यीप्पी ल्याण्ड जान सकिन्छ भने यता तरहराको होम्स चौकबाट पूर्वतर्फबाट पनि २ किलोमिटर भित्र छिरेपछि यीप्पी ल्याण्ड पुग्न सकिन्छ । यीप्पी ल्याण्ड इटहरीको प्रख्यात पर्यटकीय गन्तव्य तालतलैयाको नजिकै पर्छ ।
वेट एण्ड डिनोका के छन् भावी योजना ?
टाढाटाढाबाट आउने ग्राहकलाई लक्षित गरेर यीप्पी ल्याण्डको मास्टर कम्पनी वेट एण्ड डिनाले निकट भविष्यमै १४÷ १५ वटा आरामदायी भिल्ला निर्माण गर्ने योजना बनाएको छ । आफ्ना कतिपय ग्राहकहरु भारतको बिहार र अहमदावादबाट आउने भएकाले धेरैले बस्ने ठाउँ खोज्ने गरेको र उहाँहरुको सुविधाको लागि भिल्ला निर्माण गर्ने आफूहरुको योजना रहेको ज्ञानविक्रम शाहले प्रदेश पोर्टललाई बताए । त्यति मात्र नभएर कन्फ्रेन्स हल र अलिक ठूलो सङ्ख्यामा आउने पाहुनालाई खानको सुविधा हुने खालको क्यान्टिन बनाउने साथै स्पोर्टस जिम सञ्चालनको समेत योजना रहेको शाहले सुनाए ।