इटहरीः प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डले प्रदेशको खेलकुदलाई ब्युताउन आगामी आर्थिक वर्षका लागि ६३ करोड ५० लाख रुपैँया बजेट विनियोजनको माग प्रदेश सरकारसँग गरेको छ ।

प्रदेश सरकारको नीति कार्यक्रम आउने चहलपहल सुरु भएकै समयमा खेलकुद विकास बोर्डले मृत अवस्थामा रहेको प्रदेशको खेलकुदलाई उर्जाशिल बनाउन बोर्डले गर्ने कार्यक्रमको ढाँचा सहित बजेट विनियोजनको माग गरिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताएका छन् ।

गत शुक्रबार धनकुटा जिल्लाको भेडेटारमा बोर्डले आयोजना गरेको प्रशिक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिमलाई सम्बोधन गर्दै वाग्लेले आफुले खेलकुदका क्षेत्रमा गर्ने योजना समेटिएको नीति कार्यक्रम सहित बजेट माग गरेको बताएका थिए ।

बोर्डले प्रदेश एकका १४ वटै जिल्लामा एकसाथ संचालन हुने गरी खेलकुद महोत्सव गर्ने , प्रशिक्षक, खेलाडी , रेफ्रिलाई बिभिन्न प्रकारका खेलसँग सम्बन्धित तालिमको आयोजना गर्ने, विभिन्न आमन्त्रण खेल प्रतियोगिता गर्ने र सबैभन्दा बढी लगभग ४० करोड रुपैँया पुर्वाधार निर्माण गर्ने योजना प्रदेश मन्त्रालयलाई पेश गरेको सदस्य सचिव वाग्लेले जनाएका छन् ।

क्षमता अभिवृद्धि तालिम कार्यक्रममा उपस्थित भएका प्रशिक्षकहरुले समेत प्रदेशको खेलकुदले यो वर्ष उर्जा पाउने भएकाले खेलकुदको बजेट नकटाउन अनुरोध गरेका थिए ।
उदयपुरकी कवडी प्रशिक्षक पवित्रा राईले खेलकुद सुचारु भए हस्पिटल बनाउन नपर्ने भन्दै खेलकुदका क्षेत्रमा विनियोजन हुने बजेट कटौति हुन नहुने बताइन । भलिवलका भोलेन्टियर प्रशिक्षकको रुपमा कार्यरत झापाका भिष्मराज उप्रेतीले खेलकुदको बजेट घटाउनुको साटो बढाउनु पर्ने आवाज बुलन्द गरेका छन् ।

एक सय २० जना प्रशिक्षकहरुले एउटै आवाजमा खेलकुदको बजेट घटाउन नहुने आवाज राखेका थिए । प्रदेशका अभिकांश खेलकुदका पूर्वाधारहरु जीर्ण अवस्थामा रहेकाले खेलकुदका संरचना निर्माण , खेलाडीलाई प्रशिक्षण सामाग्री वितरण जस्ता एजेण्डामा बजेट अपरिहार्य रहेको प्रशिक्षकहरुको भनाइ छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी प्रदेश सांसद कुसुम श्रेष्ठले पनि खेलकुदको बजेट नघटाउन आफ्नो मन्तव्यसँग आग्रह गरेकी थिइन् । उनले आफु अब बस्ने प्रदेश अधिवेशनमा शुन्य समयको माग गरि अर्थमन्त्रालयसँग खेलकुदको बजेट यथेष्ट रुपमा विनियोजन हुनुपर्ने कुरा राख्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् ।