इटहरीः लामो टुप्पि, खरानी रङ्गको दोसल्ला ओढेका कृष्ण भक्त ललित माधव दासलाई मञ्च दिइयो । मञ्चमा पुगेका दासले सबैलाई सम्बोधन गरे ‘हरे कृष्ण’ ।
धेरै जसो भजन कृतनमा सम्बोधन गर्ने दासले आफुलै औपचारिक कार्यक्रममा धेरै सम्बोधन नगर्ने गरेको पहिल्यै खुलाए । कार्यक्रमको संयोग थियो लर्डबुद्ध इन्टरनेशनल स्कुल रामधुनी ५ ले नवनिर्वाचित जनप्रतिनिधिलाई बद्याई तथा निवर्तमान जनप्रतिनिधिलाई विदाई गर्ने समारोह ।
‘प्रगति पथमा सँधै पाइला बढुन
नआओस कुनै बाधा अड्चन
नमरोस कहिल्यै हाम्रो सद्भावना
नवनिर्वाचित पदाधिकारी ज्युहरुलाई
धेरै धरै बद्याई तथा शुभकामना ’
लर्डबुद्ध इन्टरनेशनल स्कुलकी शिक्षिका सुमित्रा शाक्यका यीनै शब्दहरुले स्वागत गरेको कार्यक्रममा नवनिर्वाचित रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, उपमेयर तारा थापा लगायत वडा नम्बर १,२,३,५ र ९ का निर्वाचित जनप्रतिनिधिलाई बद्याई तथा शुभकामना आदान प्रदान गरियो ।
कार्यक्रममा निम्ता दिइएका अन्य वडाका जनप्रतिनिधिहरु र शैक्षिक संस्थाका प्रतिनिधिहरु उपस्थित भएनन् तथापी कार्यक्रम सौहार्दपुर्ण नै रहेको थियो ।
कार्यक्रममा रामधुनीकै शान्ति टोल विकास संस्थाका अध्यक्ष इश्वरी पोखरेलले लर्डबुद्धले आफ्नो राम्रो छाप छोड्न सफल भएको बताए । उनले अघिल्लो स्थानीय निर्वाचनमा निर्वाचित नगरप्रमुख जयप्रकाश चोधरीले खासै नगरको लागि केही गर्न नसकेपनि नराम्रो काम भने नगरेको भनेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा रामधुनी ९ का नवनिर्वाचित वडा अध्यक्ष घनश्याम चौधरीले जनप्रतिनिधहरु आसाका केन्द्र रहेकाले जनताको सपना पुरा गर्नु जनप्रतिनिधिको जिम्मेवारी भएको भन्दै जनताको सपना पुरा गर्ने तर्फ आफ्ना पाइलाहरु अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
चौधरीले लर्डबुद्ध स्कुलले विद्यार्थीको सर्वागिण विकासमा ध्यान पुर्याएको भन्दै शुभकामना दिएका थिए । रामधुनी नगरकी निर्वाचित उपप्रमुख तारा थापाले आफुले काम गरेको विद्यालयमा आफैँ सम्मान हुनपाउँदा खुसि लागेको बताइन । जनताको सुझावलाई शिरमा राखेर काम गर्ने बताउँदै थापाले आफूले शैक्षिक जगतमा सिकेको सीपलाई सदुपयोग गर्ने बताइन ।
नवनिर्वाचित मेयर शंकरलाल चौधरीले यस्तो प्रकारको कार्यक्रम आयोजना गर्ने लर्डबुद्ध पहिलो भएको बताउँदै नगरको विकासका लागि विज्ञहरुलाई राखेर सुझाव सल्लाह लिएर अगाडी बढ्ने समेत बताए ।
कार्यक्रममा अतिथीको रुपमा उपस्थित भएका इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक रविन्द्र थापाले आमाको मोवाईल शिर्षकको कविता सुनाएर हललाई नै आमामय बनाए ।
प्रमुख अतिथीको आसनबाट बोल्दै भाषाविद प्राडा टंकप्रसाद न्यौपानेले नवनिर्वाचित जनप्रतिनिधिले जनताले भनेको काम नगरे भोली त्यो ठाउँमा हर्क साम्पाङ्ग र बालेनहरु जन्मिने भन्दै जनप्रतिनिधिलाई भौतिक विकास र मानवीय विकास दुवैलाई स्थान दिएर अघि बढ्न अनुरोध गरेका थिए ।
रामधुनी पर्यटकिय सम्भावनाले समेत महत्वपुर्ण रहेको भन्दै न्यौपानेले रामधुनीमा रहेको रास ताललाई पर्यटक तान्ने गरी विकास गर्न अनुरोध गरे । उनले भाषा, कला , साहित्यलाई समेटेर एउटा समिति बनाउन र कलाको संरक्षणमा लाग्न समेत निर्वाचित मेयर उपमेयरलाई आग्रह गरे । धरान र रामधुनीको भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले पिण्डेश्वरीमा दियो निभ्दा रामधुनीबाट लाने र रामधुनीमा निभे पिण्डेश्वरीबाट ल्याइने ऐतिहासिक धार्मिक प्रचलन रहेको समेत सुनाए ।
लर्डबुद्धका संस्थापक प्रिन्सिपल अर्जुनप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नवि निर्वाचित मेयर उपमेयरलाई सम्मान गर्नुका साथै उपस्थित निर्वाचित जनप्रतिनिधिलाई भागवत गीता मायाको चिनो स्वरुप प्रदान गरिएको थियो भने स्कुलका फाउण्डरका पिता इन्द्रप्रसाद न्यौपानेलाई प्रमुख अतिथीबाट दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रम विद्यालयका शिक्षक विनोद कोइराला र पुनम बस्नेत र प्रान्जली सापकोटाले सञ्चालन गरेका थिए । कार्यक्रमका विद्यार्थी हरुले राष्ट्रिय गीत, नृत्य र स्वागत गीत समेत गाएर उपस्थितलाई मनोरन्जन दिलाएका थिए ।