इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १८ को डकाहा हरेराम मन्दिरबाट पश्चिम उत्तर पञ्चायत आधारभुत विद्यालय जाने बाटोको कल्भर्ट वर्षायाम सुरु हुँदासमेत सम्पन्न नभएपछि किसान र स्थानीय मर्कामा परेका छन् ।
नगरस्तरीय योजना अन्तर्गतको सो योजना सयपत्री कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । गत फागुनमा सम्झौता भएर सुरु भएको काम ठेकेदारले सरासर नगर्दा स्थानीयवासीले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।
२ वटा गाउँ जोड्ने मुलबाटोमा कल्भर्ट भत्काएर काम सरासर नगर्दा खेतीमा जाने आउने किसानलाई पनि समस्या परेको छ । विद्यालय जोड्ने सडक पनि त्यही भएकाले बालबालिकालाई समेत समस्या भइरहेको बताइएको छ ।
निर्माणको ठेक्का पाएको सयपत्री कन्सट्रक्सनका रुद्र बास्कोटाका अनुसार सडक मर्मतको काम जारी रहेकाले मोटरसाइकल लगायतका सवारी साधनलाई आवतजावत गर्न समस्या छ ।
‘ट्रयाक खोल्ने काम बाँकी छ । हाम्रो सम्झौताअनुसार असार मसान्तसम्ममा सक्नुपर्ने हो, त्यो हामी सक्छौँ । ’ बास्कोटाले प्रदेशपोर्टलसँग भने ।स्लावको काम भइसकेको र असार मसान्तसम्म सक्नुपर्ने भएकाले काम गरिहेको उनले बताए ।
‘प्राविधिक काम भएकाले होमपाइप हाल्न पनि समय लाग्छ आज ल्याएर होमपाइप राखेर पुर्ने भन्ने हँुदैन । मापदण्डहरु पूरा गर्नुपर्छ । प्राविधिक नियमका कारण पनि काम गर्न ढिलाइ भइरहेको छ ।’ बास्कोटाले अघि भने ।
फागुनमा सम्झौता भएर काम सुरु भएको बताउँदै बास्कोटाले निर्वाचनका कारण केही समय काम गर्न ढिलाइ भएको र भनेको समयमा सामानसमेत नपाउँदा काममा स्वभाविक ढिलाइ भएपनि सम्झौताअनुसार असार मसान्तसम्म सक्नुपर्ने भएकाले आफूले काम सक्ने सयपत्री कन्सट्रक्सनको तर्फबाट बास्कोटाले भनेका छन् ।
फागुनबाट सुरु गरेको काम सरासर नगरी रोकेर बेपत्ता भएको आरोप निर्माण कम्पनीलाई लागेको छ । गाडी घोडाहरु पुलबाट जानुपर्ने, आउन जान गाह्रो भइरहेकाले काम सरासर हुनुपर्ने स्थानीयवासीहरुको भनाइ छ ।
बालबच्चा पनि हिँडडुल गर्ने भएकाले आवतजावतमा कठिनाइ भएको छ । कलभर्ट र कालोपत्रे पनि गर्नुपर्ने तर अहिलेको गतिमा काम हुँदा काम सम्पन्न गर्न अझै समय लाग्ने बताइएको छ । २ वटा गाउँ जोड्ने बाटो समयमा सम्पन्न नहुँदा किसानलाई खेतीको समयमा समस्या हुने गरेको स्थानीय महेश चौधरीले बताए ।
निर्माण ठेक्का पाएको सयपत्रीले अहिलेसम्म कार्ययोजना निर्माण भइरहेको व्यानरसमेत नटाँगेको थाहा भएको छ । स्रोतका अनुसार सयपत्रीले निर्माण कार्य गत फागुनमा सुरु गरेता पनि अहिलेसम्म निर्माणाधीन कामको स्थानीय उपभोक्तालाई सार्वजनिक रुपमा सूचना नै दिएको छैन ।
आयोजनाबारे राखिएको जिज्ञासामा इटहरी उपमहानगरपालिकाका इन्जिनियर कैलाश तिम्सिेनाले आफूले योजनाको प्रगति विवरणबारे पूरा जानकारी नपाएको बताए । उनले सोमबार निर्माणको जिम्मा पाएको ठेकेदारलाई उपमहानगरको कार्यालयमा बोलाएकाले त्यसपछि मात्रै प्रगति विवरण थाहा हुने बताए । तर निर्माण भइरहेको योजनाको जानकारीमूलक व्यानर भने राख्नुपर्ने इन्जिनियर तिम्सिनाको भनाइ थियो ।