भेडेटारः पर्यटनका दृष्टिले प्रदेश नम्बर १ कै उत्कृष्ट गन्तव्य मानिने धनकुटाको साँगुरीगढी गाउँपालिकामा करको दायरा साँघुरो हुँदा आन्तरिक राजश्व खुम्चिएको पाइएको छ । जसका कारण पूर्वाधार निर्माणमा संघ र प्रदेशकै मुख ताक्नुपर्ने अवस्था रहेको देखिन्छ ।निकै होटल रेष्टुरेन्ट र व्यापारको केन्द्र भएता पनि भनेको समयमा कार्यनीति नबन्दा तथा बनेपनि लागु नहुँदा राजश्व संकलनमा भने सो गाउँपालिका निकै पछि परेको पाइएको हो ।
शुक्रबार गाउँपालिकाको कार्यालयमा दातृ निकायका प्रतिनिधि, कर्मचारी र पदाधिकारीबीच आयोजना भएको अन्तक्र्रिया कायक्रममा बोल्दै पालिकाका प्रशासकीय अधिकृत द्रोणकुमार राईले लघु उद्यमका विषयमा कार्यनीति बनेको १ बर्ष भइसक्दा पनि कार्यान्वायन नभएको बताए ।
पालिकाको मुख्य आम्दानी पर्यटन भएता पनि पर्यटकबाट आएको नाफा लिएर व्यापार गरिरहेका होटल व्यावसायीलाई कार्यनीति बनाएर करको दायरामा ल्याउन नसकेको राईले बताए । अघिल्लो कार्यकालका पदाधिकारीहरुले पर्यटन व्यवसायीलाई कर तिरेपछि के पाउने भन्ने विषयमा राम्रोसँग बुझाउन नसकेको र कार्यनीतिसमेत ल्याउन नसकेका कारण साँगुरीगढीले आन्तरिक श्रोतलाई बढाउन नसकेको नवनिर्वाचित पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
सयौँको संख्यामा व्यवासायीहरु बहालमा बसेर व्यवसाय गरिरहेको भएपनि अहिले गाउँपालिकामा जम्मा ३ वटा व्यवसायीले मात्र बहालकर तिरिरहेको पाइएको छ ।
आफू पालिकामा आएलगत्तै अब पर्यटन व्यवसायीलगायत सबैलाई कर तिरेपछि व्यवसायीले के पाउने , पालिकाका सबै ठाउँमा खानेपानीको अपर्याप्ततालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत अब बन्ने नीति तथा कार्यक्रममा समेट्ने अध्यक्ष राईले बताए ।
अघिल्ला जनप्रतिनिधिहरुले कानुन थिएन भनेर माफी मागेको भएता पनि अब आफूहरुले जनतासँग माफी माग्ने ठाउँ नरहेको बताउँदै उनले साँगुरीगढीको विकासका लागि सबै जनप्रतिनिधिको एउटै स्वर हुनुपर्ने धारणा अघि सारेका थिए । राईले भेडेटारको जस्तै मुहार सबै वडाको बनाउन आफू लागिपर्ने बताए ।
गाउँपालिकाले १४३ वटा कानुन निर्माण गर्नुपर्नेमा अहिलेसम्म जम्मा ४७ वटा कानुन मात्र निर्माण भएको बताइएको छ । ५ वर्षको अन्तरालमा ५२ वटा मुद्दाको फैसला न्यायिक समितिले गरेकोमा सबै मेलमिलापको माध्यमबाट न्याय दिलाइएको पाइएको छ । न्यायिक समितिले बनाउनुपर्ने वडागत मेलमिलाप केन्द्र भने अहिलेसम्म नबनाएको प्रशासकीय अधिकृत द्रोण राई बताउँछन् ।
अन्तरक्र्रियामा बेलायती राजदूतावास काठमाडौँ मधु विश्वकर्माले आइपिएफमार्फत् सुशासन, सेवा प्रवाह, आर्थिक विकास लगायतका क्षेत्रमा आफूहरुले सहयोग गर्ने बताएका थिए । कार्यक्रममा साँगुरीगढीको संक्षिप्त परिचय राख्दै प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले योजनाहरुको सम्झौता ढिलोगरी हुने परम्पराका कारण बजेट खर्च कम हुने गरेको र त्यसलाई सुधार्न जनप्रतिनिधि जागरुक हुनुपर्ने भनाई राखेका थिए ।
धनकुटाको साँगुरीगढी गाउँपालिको भेडेटार आत्माघर, अजंगको बरको रुख, ध्वजे डाँडा, पाथीभरा देवीको मन्दिर, सुर्योदय बौद्ध विहार, स्काई वाक, नमस्ते झरना, लगायतका पर्यटकीय गन्तव्यबाट परिचित छ ।