भेडेटारः प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ को आयोजनामा प्रदेश १ का १४ वटै जिल्लाका खेल प्रशिक्षकहरुलाई एकै ठाउँमा राखेर आयोजना गरिएको क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा विशेष प्रस्तुति दिँदै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले आगामी असोजमा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लाग्न प्रशिक्षकहरुलाई निर्देशन दिएका छन् । वाग्लेले एक प्रशिक्षक बराबर कम्तीमा एक मेडल ल्याएर प्रदेश एकको खेलकुदको नाम राख्न प्रशिक्षकहलाई आग्रह गरे । सहभागीहरुले उठाएको खैल मैदान तथा खेल सामग्रीको अभाव लगायतका विषयमा सम्बोधन गर्दै सदस्य सचिव वाग्लेले भने, ‘कसलाई कहाँ के आवश्यक छ, त्यो पूरा हुन्छ तर तपाईँहरु लाग्नुपर्यो जबसम्म प्रशिक्षण राम्रो बन्दैन तबसम्म खेलाडी उत्पादन गर्न सकिँदैन ।’
प्रदेशको खेललाई पुनः ब्युँताउन आफू सक्रिय रुपमा लागेको बताउँदै वाग्लेले सबै जनाले होस्टेमा हैँसे गरेर लाग्न र खेलकुदमा पनि प्रदेशलाई एक नम्बर बनाउन आग्रह गरेका थिए ।समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रदेश सांसद कुसुम श्रेष्ठले आफू पनि खेल र खेलाडीको आवाज उठाउने मध्येको एक व्यक्ति भएकाले प्रदेश सरकारलाई खेलकुद विकास बोर्डले माग गरेको बजेट स्वीकृत गराउन लागिपर्ने वचनबद्धता व्यक्त गरेकी थिइन् । प्रदेश सभा बसेको बेला शुन्य समयमा खेल क्षेत्रको बजेट नकाट्न आवाज उठाउने उनले बताइन् ।
प्रदेश नम्बर १ का खेलाडी र प्रशिक्षकले खेलकुद बुझेको सदस्य सचिव पाएको बताउँदै श्रेष्ठले २ दिने तालिमले प्रशिक्षकहरुलाई सहयोग गरेको विश्वास व्यक्त गरिन् । उनले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्णपदक ल्याएर नाम राख्न खेलाडीहरुलाई आग्रह गरिन् ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश बिष्टको सभापतित्वमा भएको समापन कार्यक्रममा खेलाडीले उठाएको जिज्ञासाको जवाफसमेत सदस्य सचिव वाग्लले दिएका थिए । खेलाडीहरुले स्थानीय तहहरुले राजनीतिक रुपमा जथाभावी प्रशिक्षकहरु नियुक्त गर्दा राष्ट्रिय खेलकुद परिषद्बाट लाइसेन्सप्राप्त प्रशिक्षकहरु लाईसेन्स लुकाएर हिँड्नुपर्ने अवस्थामा रहेको गुनासो गरेका थिए ।
प्रशिक्षकको गुनासोलाई सम्बोधन गर्दै वाग्लले आफू हरेक स्थानीय तहका पदाधिकारीसँग छलफलमा लाग्ने र कम्तीमा प्रशिक्षकहरुलाई रोजिरोटीको व्यवस्था मिलाउने वचन दिएका थिए । तालिममा प्रदेश १ का १५० भन्दा बढी प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।