बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाको कार्यपालिका सदस्यहरुको लागि भएको निर्वाचनमा गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । आज भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवारहरुले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

निर्वाचित हुनेहरुमा दुर्गा राई (३३ मत), नबिना विश्वकर्मा (३३ मत), भगवति कट्वाल खड्का (३३ मत), मालती विश्वकर्मा (३३ मत), विष्णुकुमारी बिष्ट (३३ मत), पंकजकुमार महतो (३४ मत), रत्नबहादुर रम्तेल (३४ मत) र सुष्मा माझी (३४ मत) रहेको निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रले जानकारी दिएको छ ।

गठबन्धनको स्पष्ट बहुमत रहेको नगरपालिकामा दलित वा अल्पसङ्ख्यकबाट नेपाली काँग्रेसले पङ्कज महतो, माओवादी केन्द्रमा रत्नबहादुर रम्तेल र नेकपा (एकीकृत समाजवादी)बाट सुष्मा माझीले उम्मेदवारी दर्ता गर्दैगर्दा नेकपा एमालेबाट दिपनारायण उराव र शान गजमेर उम्मेदवार बनेका थिए ।

त्यस्तै, वडा सदस्यहरूबाट नगर कार्यपालिका सदस्यमा गठबन्धनबाट दुर्गा राई, नबिना विश्वकर्मा, भगवति कटुवाल (खड्का), मालती विश्वकर्मा र विष्णुकुमारी बिष्ट उम्मेदवार बनेका थिए भने नेकपा एमालेबाट अमिना राई, पलटी धामी, मेनुका लिम्बू र सृजना परियारले उम्मेदवारी दर्ता गराएका थिए ।

मेयर, उपमेयर र ११ जना वडाध्यक्षसहित ५७ सदस्य मतदाता रहेको बराहक्षेत्र नगरपालिकामा २४ जना नेकपा एमालेका र गठबन्धनसँग ३३ जना सदस्य रहेका छन् ।