धरानः सुकुम्बासी समस्याको समाधान गर्ने तर सुकुम्बासीलाई बस्ती छाड्न कहिल्यै पनि नभन्ने बचन दिएका धरान उपमहानगरका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ्गलाई सुकुम्बासी संरक्षण संघर्ष समितिले भेट गरेका छन् ।
आफ्ना चुनावी सभामा जहिल्यै पनि सुकुम्बासीको पक्षमा बोलेका मेयर साम्पाङ्गलाई भेटेर संरक्षण समितिले सुकुम्बासीका समस्या समेटिएको ज्ञापनपत्र समेत बुझाएका छन् ।
उनिहरुले गत फागुन १५ गते सुनसरीका सिडिओको उपस्थितिमा धरानको सर्दु खोला किनारमा २०७२ साल पछि बसेको बस्ती उठाउने सर्वपक्षीय निर्णय खारेजको माग समेत गरेका छन् ।
ज्ञापन पत्र बुझेपछि मेयर साम्पाङ्गले बसिसकेको बस्तीलाई आफु भइञ्जेल नउठाउने पनि प्रतिवद्धता जनाए । तर, बर्षामा खोलाको बाढीको कारण धनजनको क्षति हुने जोखिम हुने भएकोले नयाँ घर वा बस्ती बस्न भने नदिने बताए ।मेयर साम्पाङ्गले सर्दु र सेउती खोलामा बर्षाको बेला बाढी उर्लेर आउँदा पानीको बहावले बीचमा घर, टहरा बनाउदा क्षति पुग्ने बताउँदै बहाव क्षेत्रको बीचमा गएर टहरा बनाउनेले भिरबाट आफैँ हाम फालेको टिप्पणी गरे ।
मेयर साम्पाङ्गले २०७२ साल यता बसिसकेका सुकुम्बासी बस्तीलाई खेदाउने नीति नगरपालिकाले नलिने समेत स्पष्ट पारेका थिए ।बस्तीलाई व्यवस्थित गर्ने आवश्यक रहेको बताउने मेयर साम्पाङ्गले आवश्यक सहयोग गर्ने बचन समेत दिएका छन् ।
धरान ११ र १७ स्थित सर्दु खोला किनारामा बस्तीको वैधानिक रेखांकन र सिमांकन गरी वस्तीको संरचनालाई असर गर्ने गरी बनाईएको बस्तीको विस्तार रोक्न समेत सुकुम्बासि संरक्षण समितिले माग गरेका छन् ।
साथै, विज्ञ टोलीबाट अनुगमन मुल्यांकन गराएर सर्दु तटवर्तिय क्षेत्रको संरक्षणको लागि स्थायी रोकथाम हुने गरी तटबन्ध निर्माण गर्न तारजालीसहित आवश्यक बजेट र संसाधनको समयमै निकास दिन पनि संघर्ष समितिले माग राखेका छन् ।