इटहरीः धनकुटा जिल्लामा तेक्वान्दोका भोलेन्टर प्रशिक्षकको रुपमा काम गरिरहेका अम्बरध्वज लिम्बु २०५१ सालदेखि खेलकुदका क्षेत्रमा सक्रिय छन् । प्रदेश नम्बर एकको प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा धनकुटाकै भेडेटारमा आयोजना गरिएको प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा सहभागी हुन आएका लिम्बुले आजसम्म यस्तो कार्यक्रममा सहभागी हुने मौका पाएका थिएनन् तर प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको क्षमता अभिवृद्धि तालिम उच्च स्तरको भएको बुझाई उनले राखेका छन् ।

आफ्नो आफ्नो विद्याबाट कसरी मेडल ल्याउन सकिन्छ भन्ने प्रकारको योजना बनाएर गरिएको भए अझ तालिम कार्यक्रम प्रभावकारी हुने विश्वास राख्ने लिम्बु भाषणमात्रै गरेर खेलकुद क्षेत्रको विकास नहुने भनाई राख्छन् ।

20220602_090842137

त्यसो त सितोरियो कराँतेमा ओखलढुँगा जिल्लाको प्रशिक्षकको रुपमा काम गरिरहेका धन बहादुर भुजेलले प्रदेशमा यस्तो प्रकारको तालिम अहिले सम्म नभएको र यो राम्रो कार्यक्रम भएको बताए । पहिलो दिनको तालिम राम्रो रहेको बताउने भुजेल जिल्लामा खेलकुदलाई चलायमान बनाउन खेलकुद सामाग्रि वितरण गर्ने देखि लिएर समय समयमा खेलकुद प्रतियोगिताहरु समेत संचालन हुनुपर्ने धारणा राख्छन् ।

उता फुटवल प्रशिक्षकको रुपमा काम गरिरहेकी कुमारी राई आफ्नो जिल्लामा फुटवलको अवस्था राम्रो रहेको बताउँछिन् । आफुहरुले प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेको बताउने राई खेलका प्रतियोगिताहरु कम मात्रामा आयोजना हुँदा खेलाडीको मनोवल गिर्ने गरेको बताउँछिन् । प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको तालिम कार्यक्रमले प्रशिक्षकहरुको मनोवल बढाएको उनले बताइन् । प्रशिक्षकहरुले समेत सिक्ने मौका, कसरी सिकाउने र खेलाडीसँग कसरी जाने भन्ने कुरा समेत सिकाएको फुटवल प्रशिक्षक राईले प्रदेश पोर्टललाई बताइन् ।

284727542_400811481964573_7488520534067043926_n

मोरङ जिल्लाबाट तालिममा सहभागी भएका विनोद मरिक उसुका प्रशिक्षक हुन् । राष्ट्रिय तथा प्रदेश स्तरका खेलमा समेत उसुबाट आफुहरुले मेडल ल्याइरहेको बताउने मरिक प्रशिक्षकहरुलाई आयोजना गरिएको क्षमता अभिवृद्धि तालिम एकदमै उत्साह पुर्वक र राम्रो लागेको बताउँछन् । ‘यसो भयो भने खेलाडी र प्रशिक्षक दुवैको खेलप्रतिको क्रेज बढ्छ र सबै एक्टिभ हुन्छन् । यो हाम्रो सौभाग्य हो ।’ मरिकले प्रदेश पोर्टललाई बताए ।

ओखलढुँगाबाट सहभागी हुन्, आएका प्रवेश राई प्रशिक्षकलाई आयोजना गरिएको तालिम कार्यक्रम हौसला प्रदान गर्ने खालको रहेको बताउँछन् । प्रशिक्षकलाई आयोजना गरिएको क्षमता अभिवृद्धि तालिम उत्कृष्ट भएता पनि त्रैमासिक रुपमा नियमित आयोजना गरिएमात्रै सार्थक हुन सक्ने फुलबलका पूर्व अन्तरािष्ट्रय खेलाडी हाल सुनसरीका फुटवल प्रशिक्षक सुरेन्द्र तामाङ्गको भनाई छ ।

284757316_521325816340752_6658229136855713229_n

खेलकुद कर्मचारी संघकी अध्यक्ष तथा मोरङ्ग जिल्लाकी कराँते प्रशिक्षक कुन्ति गुरुङ्ग कोरोनाको महामारी पछि पहिलो पटक खेल प्रशिक्षकहरु एकै ठाउँमा भेला भएर मोटिभेसनल तालिममा सहभागी हुन पाउँदा खुसी छिन् । पहिलेको तुलनामा मोरङ्गमा पनि कराँतेको खेल गतिविधिहरु खस्केको बताउँने गुरुङ्ग पहिलो रिफ्रेसमेन्ट तालिमले उर्जावान बनाएको बताउँछिन् । यसप्रकारका तालिम कार्यक्रमले पक्कै पनि नवौँ खेलकुद प्रतियोगितामा राम्रो उपलव्धि हासिल हुने भनाई राख्छिन् ।

उता भलिवलको भोलेन्टियर प्रशिक्षकको रुपमा काम गरिरहेका झापाको दमकका भिष्मराज उप्रेती प्रदेश एकका उर्जावान सदस्य सचिवका कारण प्रशिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम संचालन भएको बताउँछन् । महेन्द्र पुलिस क्लवबाट लामो समय भलिवल खेलेका उप्रेती ३ वटा साफ गेममा सहभागी भएका छन् भने २०५३ सालमा भलिवलमा नेपालकै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका खेलाडी हुन् । खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेकै आधारमा राज्यले सुविधा दिनुपर्ने धारणा राख्ने उप्रेती भलिवलमा भविष्य नदेखेपछि आफुले खेल्न छाडेको बताउँछन् ।

284774980_964168404273697_9194433336215865280_n

प्रदेश नम्बर एकको प्रदेश खेलकुद विकास बोर्डले प्रदेशभरीका खेल प्रशिक्षकहरुलाई एकै ठाउँमा भेला गरेर प्रशिक्षण कार्यक्रम गरेपछि खेलाडीका प्रशिक्षकहरुको मनोवल वृद्धि हुने भएकाले यस्तो कार्यक्रमको परिकल्पना गरिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताए ।

निकट भविष्यमै खेल र खेलाडीलाई प्रोत्साहन हुने खालमा योजना लिएर पुन प्रदेश खेलकुद विकास बोर्ड आउने बोर्डका सदस्य रितेश श्रेष्ठको भनाई छ ।

प्रशिक्षकहरुलाई उर्जा मिलोस भन्ने हेतुले क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको र अवका दिनमा खेलकुदका गतिविधिलाई अझ चलायमान बनाउन खेल सामाग्री र खेलाडीलाई समेत उर्जा मिल्ने कार्यक्रम ल्याउने प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस विष्टले प्रदेश पोर्टललाई बताए ।