बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ पछि पहिलोपटक बराहक्षेत्रका निवर्तमान मेयर निलम खनाल र वर्तमान मेयर रमेश कार्की एउटै मञ्चमा देखिएका छन् । बैशाख ३० मा भएको चुनावमा एक अर्काका प्रतिस्पर्धी रहेका दुई उमेदवारहरु आज (बिहीबार) चतरास्थित एक कार्यक्रममा सँगै देखिएका हुन् ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा २ चतरामा रहेको चतरा अस्पतालको संरक्षकमा नगर प्रमुख रमेश कार्की र सञ्चालक समितिको अध्यक्षमा वडा २ को वडाध्यक्ष होमप्रसाद गौतमले पदभार ग्रहण गरे ।
अस्पतालको स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश २०७५ को दफा ३ को उपदफा ९ को (क) र (ख) अनुसार नगर प्रमुख रमेश कार्कीले संरक्षक र अस्पतालको अध्यक्षमा वडा अध्यक्षमा होमप्रसाद गौतमले पदभार ग्रहण गरेका हुन् ।
अस्पतालको संरक्षकमा नगर प्रमुख र सञ्चालक समितिको अध्यक्षमा वडाध्यक्ष रहने व्यवस्था रहेको अस्पतालका म्यानेजिङ डाइरेक्टर डाक्टर अनिल गिरिले बताए ।
बिहीबार अस्पतालको सभाहलमा आयोजना भएको कार्यक्रममा अस्पतालका निवर्तमान संरक्षक तथा बराहक्षेत्र नगरपालिकाका निवर्तमान प्रमुख निलम खनाल र अस्पताल सञ्चालक समितिका निवर्तमान अध्यक्ष तथा वडा २ का निवर्तमान वडाध्यक्ष हरिकृष्ण भट्टराईले पद हस्तान्तरण गरेका थिए ।अस्पतालले निवर्तमान संरक्षक खनाल र निवर्तमान अध्यक्ष भट्टराईलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टराईले अस्पतालको विकासको लागि सबै दल, जनप्रतिनिधि र सरोकारवाला पक्ष लाग्नुपर्ने बताए । उनले अस्पताल सबैको साझा सम्पत्ति भएकाले सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए । त्यस्तै, निवर्तमान संरक्षक खनालले राम्रो योजनालाई कार्यान्वयन गरेर लानु पर्ने बताए । वडा अध्यक्ष एवम् अस्पतालका सञ्चालक समितिका अध्यक्ष होमप्रसाद गौतमले योजना बनाएर अस्पतालको विकासमा लागि पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख कार्कीले नगरपालिका भित्रका स्वास्थ्य संस्थाको उन्नति र प्रगतिमा लागि पर्ने बताएका छन् । चतरा अस्पतालको विकासमा लागि पर्ने प्रतिबद्धता जनाउँदै नगर प्रमुख कार्कीले नगरपालिबासीको साझा भएर काम गर्ने बताए ।
अस्पतालको संरक्षकमा मेयर कार्की, सञ्चालक समितिको अध्यक्षमा वडाध्यक्ष गौतम सहित उपाध्यक्षमा युवराज भट्टराई, सदस्यमा रमेश विष्ट, प्रह्लाद भट्टराई, सीता भण्डारी पौडेल, गोपाल शर्मा र निमित्त कार्यालय प्रमुख योगेन्द्र कटेल चयन भएका छन् ।
२४ सै घण्टा उपचार सेवा दिँदै आएको अस्पतालमा ११ जनाको सरकारी दरबन्दीले नपुगेपछि समितिको श्रोतबाट ३४ जना , नगरपालिकाबाट २ जना, नेत्र ज्योति सङ्घ, बिपी प्रतिष्ठान धरानबाट गरी ५४ जना स्वास्थ्यकर्मी रहेका छन् । उक्त अस्पताल नमुना स्वास्थ्य संस्थाको रूपमा रहेको छ ।