भेडेटारः धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष जितेन्द्र रुम्दाली राईले महाभारतको पहाडलाई हाईकिङ्ग रुटको रुपमा विकास गर्ने योजनामा आफु रहेको बताएका छन् ।
त्रिवेणीदेखि ध्वजेडाँडासम्म पदमार्ग निर्मार्ण गर्न पनि आफ्नो योजना रहेको उनले बताए । टाढाबाट छुट्टी मनाउन आउने पर्यटकलाई लक्षित गर्दै त्यो रुटको बिच बिचमा होमस्टे निर्माण गर्ने र महिला र युवालाई रोजगारी सिर्जना गर्न तर्फ आफु लागि पर्ने बताए ।
यहाँका दिदि बहिनीलाई कसरी रोजगार बनाउन सकिन्छ र युवाहरुका लागि कसरी रोजगारमा लगाउन सकिन्छ भन्ने विषयमा आफुहरु एकदमै चिन्तित रहेको नवनिर्वाचित अध्यक्ष रुम्दालीले बताए ।
बिहिबार साँगुरीगढी स्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग बोल्दै रुम्दालीले साँगुरीगढीको पर्यटन प्रवद्र्धनका लागि आफु एकदमै चिन्तित रहेको बताउँदै पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने सुनाए ।
साँगुरीगढी आफैँ पर्यटकिय गन्तव्य भएको र ठुलो प्रोजेक्ट भएको हुँदा स्थानीय सरकारको बजेटले मात्रै सम्भव नहुने हुनाले प्रदेश सरकार र संघीय सरकारसँग बजेटको लागि अनुरोध गरिसकेको बताउँछन् ।
सम्भाव्यता अध्ययन गरेर आगामी दिनमा मेगा प्रोजेक्टको रुपमा योजना निकाल्ने र सोही अनुसार बजेटको पहल गरेर भेडेटारको विकासका लागि पहल गर्ने राईको भनाई छ । बजेटका लागि १ नम्बर प्रदेश सरकार र संघीय सरकारसंग आवश्यक पहल गर्ने उनले बताए ।
साँगुरीगढी गाँउपालिकाको भेडेटारलाई नेपालकै नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गराउन आफ्नो पाँच बर्षे कार्याकालमा लागि पर्ने अध्यक्ष रम्दालीले बताए । त्यसका लागि नीजि क्षेत्रसंग पनि सहकार्य गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।