इटहरीः प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री राजन राईले ठुला भनिएका दललाई यसपालिको स्थानीय तहको निर्वाचनमा लौरोले नराम्ररी कुटेको बताएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डले धनकुटाको भेडेटारमा आयोजना गरेको खेल प्रशिक्षक क्षमता अभिवृदि कार्यक्रमलाई प्रमुख अतिथीको सम्बोधन गर्दै मन्त्री राईले आफुहरु सानो दलको प्रतिनिधित्व गरिहेको समेत बताए ।

राईले धरान तथा काठमाण्डौमा स्वतन्त्र उम्मेद्वारले राम्रो मत ल्याएर विजय हासिल गरेको प्रसंगमा बोल्दै ठुला भनेर चिनिएका दलहरुलाई स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह लौरोले चुटेको बताए ।

कार्यक्रममा उपस्थित भएका प्रशिक्षकहरुलाई इंकित गर्दै मन्त्री राईले अवको नेता तथा नेतृत्व यही उपस्थितहरुमध्येबाट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदेश खेलकुद विकास बोर्डले खेल प्रशिक्षकहरुलाई दिर्घ सेवा पदकले सम्मान गरेकोमा बद्याई दिँदै खेल र खेलाडीहरुका लागि आजको पल उर्जा र उत्साहको पल रहेको बताए ।

प्रदेस खेलकुद विकास बोर्डले जुझारु समुह पाएको र खेलकुद बुझेको सदस्य सचिव पाएको हुँदा प्रदेशमा अव खेलकुद गतिविधिहरु च्लायमान हुने विश्वास समेत व्यक्त गरे ।

‘शास्त्रीय पारा छोड्नुपर्छ, र इमानदार भएर लाग्नुपर्छ त्यसो भयो भने खेलक्षेत्रलाई माथि उकास्ने प्रशस्त सम्भावना छ ।’मन्त्री राईले भने ।

योजनागत रुपमा अघि बढ्न र सबै कुरामा सरकारको मुख नताक्न मन्त्रीले आग्रह समेत गरे । कार्यक्रममा समाजवादी खेलकुद महासंघको केन्द्रिय उपाध्यक्ष अर्जुन राई , सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनालीलेले मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई बोर्डका सदस्य शैलेस विष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम युवराज काफ्लेले संचालन गरेका थिए । कार्यक्रममा बोर्डका सदस्य रितेश श्रेष्ठ,खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई लगायतको समेत उपस्थिती रहेको थियो ।