इटहरीः इटहरी १५ निवासी १६ बर्षीया किशोरी अस्मिता चौधरी १८ दिनदेखि वेपत्ता भएको खुलेको छ ।

निर्वाचनको दिन गत बैशाख ३० गते घरमा धामी लगाएर झारफुक गर्ने क्रममा पाती सेलाउन भनेर कोशी लगिएकी अस्मिता अहिलेसम्म घर नफर्किएको परिवारले जानकारी दिएका छन् ।

गत शनिवार इटहरीमा भएको महिला संजालको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले बालिका चुनावको दिनदेखि सम्पर्कमा नआएको भन्दै महिला अधिकारकर्मीहरुको समेत ध्यानाकर्षण गराएकी थिइन् ।

अस्मितालाई वेपत्ता बनाएको आरोपमा उनका काका लालु चौधरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्मिताका काका लालुले अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशी नदीमा लिएर गएदेखि उनी घर नफर्किएकी बेपत्ता किशोरीका बुवा पशुपति चौधरीको भनाई छ ।

झारफुक पछि छोरी घर नफर्किएपछि परिवारले जेठ २ गते नै इलाका प्रहरी कार्यलय पकलीमा मानवअपहरण तथा शरीर बन्धन बनाएको आरोप लगाउँदै दुई जना विरुद्ध जाहेरी दिएका थिए । जाहेरीमा अस्मितालाई घरबाट लिएर जाने काका लालु र विराटनगर घर भएका धामी दिनेश मण्डल छन् ।

उनिहरुले मोटरसाइकलमा राखेर अस्मितालाई झारफुक गरेको पाती सेलाउन भन्दै कोशी नदिमा लिएर गएका हुन् ।यता प्रहरीको अनुसन्धानले भने कोशी नदीमा लैजाने भनिए पनि काका लालु र झाँक्री दिनेशले अस्मितालाई विराटनगरको सनी मन्दिर पु¥याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखाएको छ ।

प्रहरीले त्यतिबेलै काका लालु र सनी मण्डल नाम गरेका अर्का एक व्यक्तिलाई पक्राउ गरेको थियो । झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीले बताएको छ ।झाँक्रिले नै अस्मितालाई बेवत्ता बनाएको आरोप अभिभावकले लगाएका छन् ।

अनुसन्धानका क्रममा प्रहरीले विराटनगरस्थित सनी मन्दिर नजिक रहेको दिनेशको बहिनीको घरमा अस्मिताको पाउजु फेला पारेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।