इटहरीः कोशी गाउँपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मंगलबार नुहाउने क्रममा खोलामा पसेका भारतीय नागरिक राजेश शर्माको मृत्यु भएको हो ।
शर्मा भारत बिहार जिल्ला सुपौल ग्रामपञ्चायत भीमनगर १३ लालपुर घर भइ सुनसरी कोशी गाउँपालिका ८ बस्ने रवीन्द्र शर्माको घरमा पाहुना आएका थिए ।
१६ वर्षीय राजेश मंगलबार दिउँसो नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखेर निकालेका थिए । शर्माको उपचारको लागि स्थानीय क्लिनिक लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिई कानूनी प्रकृया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।