इटहरीः सुनसरी धरान ११ स्थित विष्णु चोकका ३१ वर्षीय सन्दीप लम्जेलको हत्यामा दुई जना बालक संलग्न भएको पाइएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान बगरकोटको होटलमा काम गर्ने घरान ठेगाना भएका १८ वर्षीय र १४ वर्षीय छन् । दुवैले लम्जेलको हत्या गरेको स्वीकार गरेका छन् ।
१४ वर्षीय बालकलाई धरान र १८ वर्षीय किशोरलाई धनकुटाको छिन्ताङबाट पक्राउ गरिएको छ । लागूऔषध ब्राउन सुगर खरिद बिक्रीको विषयमा विवाद हुँदा दुईजनाले लम्जेलमाथि छुरा प्रहार गर्नुको साथै ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ब्राउन सुगरको विषयमा विवाद हुँदा एक्कासी पछाडिबाट पेटमा छुरा प्रहार भएको बताए । पछि तानेर सेउती खोलाको किनारमा लगेर ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेको उनको भनाई छ । साथै छुराले शरीरको धेरै भागमा प्रहार गरेको उनले बताए ।
घटनापछि मृतकको बाइक र मोबाइल घटनास्थलदेखि केही पर फ्याँकेर दुवैजना फरार भएका थिए । सुनसरी प्रहरीले हत्यामा प्रयोग भएको छुरा समेत बरामद गरेको छ ।
हत्यामा बालक र किशोर उमेर समूहको भएको कारण नाम सार्वजनिक नगर्ने तयारी गरिएको छ । हत्यापछि फरार रहेका दुवैलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापा आफै फिल्डमा खटिएका थिए । साथै घटना अनुसन्धानको लागि १ नं. प्रदेश प्रहरीको (आरआईटी) समूह, संघीय प्रहरी इकाई कार्यालय धरान र धरान प्रहरी समेत संयुक्त रुपमा परिचालित भएका थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक थापाले हत्यामा संलग्न दुईजना पक्राउ गरेको पुष्टि गरे । लम्जेलको शव धरान ५ स्थित सेउती खोलाको किनारमा जेठ १२ गते बिहान भेटिएको थियो । शवको सनाखत हुन भने समय लागेको थियो । पछि आफन्तहरूले शवको सनाखत गरेका थिए ।