धरानः धरानमा संचालित बराह बचत तथा ऋण सहकारीले जेठ १८ (आजको ३ दिन)सम्ममा बचतकर्ताको रकम फिर्ता गर्ने ठोस नीति कार्यान्वायनमा नल्याएर सम्पत्तिमा पिडितहरुले ताला लगाउने भएका छन् ।

धेरै जसो भुतपुर्व सैनिक र अन्य थुप्रै बचतकर्ताको करोडौँ रुपैँया बचत उठाएर ठोस सम्पत्तिमा परिणत गरेको बराहले आवश्यक परेको बेला बचतकर्ताको बचत फिर्ता नदिँदा पिडितहरु लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् ।

पिडितहरुले शनिवार धरानका नवनिर्वाचित मेयर हर्कराज राईलाई समेत भेटेर बचत रकम फिर्ता गर्न बराहाका संचालकलाई देशबाहिर जान नदिन नितिगत निर्णयको माग समेत गरेका छन् ।

बराह सहकारीले जेठ १८ गतेसम्म भाका मागेकाले जेठ १८ गतेदेखि बराहा बचतका पिडितहरुले सहकारीको धरान र भेडेटारमा रहेका शाखामा ताला लगाउने समेत बताएका छन् ।

सहकारीले आफुहरुले बारम्बार बचतकर्ताको पैसा फिर्ता गर्ने भन्दै टार्दै गएको तर पैसा भने नदिएको बताउँदै पिडितहरुले जेठ १८ अन्तिम दिन भएकाले तहाँ उप्रान्त नपर्खने र बराहको सम्पत्ती बिक्रि गरेर पनि बचतको रकम लिने बताएका छन् ।

करिब १३ हजार शेयर सदस्यको १० हजारदेखि ४० करोड रुपैयाँसम्म रकम राखेको बराहा सहकारीले बचतकर्तालाई रकम चाहिएको बेलामा नपाएपछि सहकारी विरुद्ध शेयर सदस्यहरू आक्रोशित भएका हुन् ।

 रकम माग्न जाँदा सहकारीका कर्मचारीले टोकन दिने गरेको र टोकन दिएर ‘केही दिनपछि तपाईँलाई फोन गरेर बोलाउँछौं’ भनेर रित्तै पठाउने र फोन पनि नगर्ने, टोकन अनुसार पैसा लिन जाँदा ‘आज पैसा छैन’ भनेर फर्काउने गरेको थियो ।

सहकारीले कति जना सदस्य छन् र कति रकम जग्गामा लगानी भएको छ भनेर पारदर्शी हिसाब भने सार्वजनिक समेत नगरेको पाइएको छ । तथापि अहिले सम्म बराह पिडित संघर्ष समितिको सम्पर्कमा १४ हजार भन्दा बढि पिडितहरु आइसकेको संघर्ष समितिले जानकारी दिएको छ ।

बराहको सम्पत्तिको रुपमा सहकारीसहित अभिमत सेभिङ एण्ड क्रेडिट लिमिटेड, दुबईमा अल बराह मिनी मार्केट एलएलसी, बराह बालसंसार, बराह ज्वेलरी इण्डस्ट्रिज प्रालि, बराह फेमिली किचन, चितवनमा नारायणी बराह ज्वेलरी नारायणी, गोर्खा बराह ज्वेलरी पोखरा, इन्द्र बराह ज्वेलरी हङकङ, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, कृपा दृष्य डिजिटल प्रालि रहेका छन ।

बराहले नियम मिचेर बचतकर्ताको बचत नै ठोस सम्पत्तिमा खर्च गरेका कारण अहिले पैसा फिर्ता गर्न समस्या भएको बताउँदै आएको छ । पछिल्लो समयमा आफ्नो धरानमा रहेको सम्पत्ति बेचेरै भएपनि बचतकर्ताको बचत फिर्ता गर्ने निर्णयमा पुगेको र आफ्नो सम्पत्ति विवरण समेत देखाएको पाइएको छ ।

बराह पिडितहरुको भेटमा मेयर हर्कराज राईले आफुले कानुनलाई टेकेर आफ्नो कार्यक्षेत्रले भ्याएसम्म पिडितको पक्षमा का मगर्ने वचन दिएका छन् ।